इटहरी : कोरोना संक्रमणका कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बिहिबार राति २ जनाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
विहिबार राती उपचारमा रहेका सप्तरीको राजविराज ३ का एक ७० वर्षिय पुरुष र मोरङ कानेपोखरी १ का ५५ वर्षिय पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृत्तक मध्ये राजविराज ३ का पुरुषलाई गजेन्द्र नारायण सिंह अस्पतालबाट भदौ २५ गते कोरोना संक्रमण देखिए पछि प्रतिष्ठान स्थित कोभिड अस्पतालमा रिफर गरिएको थियो ।
उनलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन र नेमोनियाको लक्षण देखिएको थियो । दिर्घरोगको विषयमा कुनै जानकारी नरहेको उनले बताए ।
उनको विहिबार राती ११ बजे मृत्यु भएको जनाएको छ ।
त्यसै गरि मोरङको कानेपोखरी १ का पुरुषको प्रतिष्ठानको सर्जिकल आइसियुमा रहेका थिए । उनको आन्द्राको क्यान्सर भएर शल्यक्रिया गरिएको थियो ।
पुरै भागमा क्यान्सर फैलिसकेको अवश्थामा उनी उपचारमै रहेका थिए ।
उनलाई असोज ८ गते कोरोना पोजिटिभ देखिए पछि कोभिड अस्पतालमा रिफर गरिएको थियो ।
उनको विहिबार साँझ साढे ८ बजे मृत्यु भएको जनाएको छ ।
दुवै मृत्तकको शव व्यवस्थापन नियम अनुसार व्यवस्थापन भइरहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।