खोटाङः सबै सङ्क्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको छ । जिल्लाका विभिन्‍न स्थानीय तहमा फरक-फरक समयमा कोरोना भाइरसबाट सङ्क्रमित २१ जना उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको हो ।

१० स्थानीय तह रहेको जिल्लामा हालसम्म एक हजार ५७५ जनाको पीसीआर परीक्षण गर्दा २१ जनालाई कोरोना पोजिटिभ देखिएको थियो । विभिन्‍न समयमा सङ्क्रमण देखिएका सबैजना सङ्क्रमित उपचारपछि घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए ।

पछिल्लो समय विभिन्‍न स्थानीय तहमा पीसीआर परीक्षण जारी रहे पनि सङ्क्रमित देखापरेका छैनन् । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ६४० जनाको पीसीआर परीक्षणमा पठाइएकामा १३ जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।

नगरपालिकामा देखिएका सङ्क्रमितमध्ये सातजना नेपाल प्रहरीका जवान छन् । यस्तै हलेसी तुवाचुङ नगरपालिकामा २५३ जनाको पीसीआर परीक्षण गर्दा चारजनाको पोजिटिभ रिपोर्ट देखिएको थियो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १४६ जनाको पीसीआर परीक्षण गर्दा एक जना, साकेला गाउँपालिकामा ११२ जनाको पीसीआर परीक्षण गर्दा एकजना, ऐंसेलुखर्क गाउँपालिकामा ७३ जनाको परीक्षण गर्दा एकजना र बराहपोखरी गाउँपालिकामा ५७ जनाको परीक्षण गर्दा एक जनालाई पोजिटिभ देखिएको थियो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म खोटेहाङ, रावाबेँसी र जन्तेढुङ्‍गा गाउँपालिकामा कोरोना सङ्क्रमित फेला परेका छैनन् ।

हालसम्म जिल्लामा एक हजार ६०८ जनाको आरडीटी परीक्षण गर्दा ३० जनाको रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले लागु गरेको बन्दाबन्दी हटेसँगै कोरोनाको जोखिम बढेपछि जिल्लामा उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

यसैबीच जिल्लाका सबै स्थानीय तहमा अहिले धमाधम कोभिड अस्पताल निर्माणको काम भइरहेको छ । देशभर सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि संघीय सरकारको लगानीमा हरेक स्थानीय तहमा पाँच(पाँच शय्याको अस्थायी रूपमा सञ्चालनका लागि कोभिड अस्पताल निर्माण सुरु गरिएको हो । रासस