इटहरीः मोरङको विराटनगर महानगरपालिकाले कोरोना संक्रमणको जोखिमका बीच कक्षा ११ को परीक्षा तालिका प्रकाशित गरेको छ ।
विद्यालय बन्द राख्ने शिक्षा मन्त्रालयको निर्णयविपरीत परीक्षा तालिका सार्वजनिक भएपछि अभिभावक आक्रोशित भएका छन् । शिक्षा मन्त्रालयले माघ महिनासम्म कक्षा ११ को परीक्षा सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोनाको संक्रमण कम नभएकोले विद्यालय सञ्चालन नगर्न आग्रह गरेका छन् । कोरोना संक्रमणका बीच अन्य स्थानीय तह मौन रहँदा विराटनगरमा परीक्षा लिन हतार गरेको भन्दै अभिभावकले सो निर्णयविरुद्ध अदालतमा मुद्दा चलाउने भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको निर्देशिका अनुसार महानगरपालिकाले असोज २५ देखि कार्तिक ३ गतेसम्म परीक्षा सञ्चालन गर्ने भएको छ । महानगरमा २७ ओटा विद्यालय रहेका छन् । महानगरपालिकाका शिक्षा शाखा प्रमुख दुर्गा खतिवडाका अनुसार माघमा परीक्षा लिँदा विद्यार्थीको चाप बढी हुने भएकाले स्वास्थ्य मापदण्ड अनुरुप परीक्षा सञ्चालनका लागि महानगरले विद्यालयसँग समन्वय गरेको हो ।
साझा युवा फोरमले परीक्षाको निर्णयप्रति विज्ञप्तिमार्फत् आपत्ति प्रकट गरेको छ । विज्ञप्तिमा फोरमका प्रदेश संयोजक सरोज नेपालको हस्ताक्षर रहेको छ । महानगरले परिक्षाको तयारी गरिरहँदा आदर्श मा.वि. र डीएभी बोर्डिङमा भने हालसम्म होल्डिङ सेन्टर सञ्चालित छ । मेयर भिम पराजुलीसमेत विद्यालय सञ्चालक रहेको भन्दै अभिभावकहरुले शुल्क असुल्ने नियतले मेयरले निर्णय लाद्न खोजेको अभिभावकहरुको आरोप छ ।