इटहरीः मोरङको विराटनगरस्थित कोसी अञ्चल अस्पताललाई विराटनगर महानगरपालिकाले चन्दा संकलन गरी प्रदान गरेको पीसीआर मेसिन हिजो आइतबारदेखि पुनः सञ्चालनमा आएको छ ।
यसअघि आवश्यक सामग्रीको अभावमा प्रयोगविहीन बनेको आरएनए एक्स्ट्र्याक्सन मेसिन १६ दिनपछि सञ्चालनमा आएको कोशी अस्तपालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दासले बताए । आरएनए एक्स्ट्राक्सन मेसिनको लागि १ हजार थान किट आएपछि परीक्षण गर्न सुरू भएको उनको भनाइ छ । मेसिन सञ्चालनमा आएपछि स्वाब संकलन र परिक्षणमा सहजता आएको छ । महानगरपालिकाले करिब ६३ लाख रुपैयाँको लागतमा दुई ओटा पीसीआर मेसिन अस्पताललाई प्रदान गरेको थियो ।
यसअघि ३१ लखको लागतमा महानगरले नै चन्दा संकलन गरी प्रदान गरेको मेसिनसहित अस्पतालमा तीन ओटा मेसिनबाट स्वाब परीक्षण भइरहेको छ । प्रतिघण्टा ९६ नमुना परिक्षणको क्षमता अनुसार अस्पतालमा दैनिक एक हजार पाँच सय नमुना परिक्षण हुने भएपछि रिपोर्टका लागि लामो समय पर्खनुपर्ने अवस्थाको अन्त्य हुने अस्पतालको विश्वास छ ।