इटहरीः कोरोना महामाारीका कारण विद्यालय बन्द रहेका बेला अनलाइनमार्फत् विद्यार्थीको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले नेपाल टेलिकमले विद्यार्थीलाई इन्टरनेट शुल्कमा सहुलियत दिने तयारी गरेको छ ।

जस अनुसार विद्यार्थीले मासिक ९९ रुपैयाँमा असिमित इन्टरनेट र फोन सेवा प्राप्त गर्ने छन् । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार विद्यार्थी परिचयपत्र र अभिभावकको नागरिकताका आधारमा विद्यार्थीलाई क्लोज युजर्स ग्रुप अन्तर्गतको पाठशाला सीयूजी सिममार्फत् सस्तो दरमा इन्टरनेट,भ्वाइस कल तथा एसएमएस सुविधा दिन लागिएको हो । उनका अनुसार यस सिमबाट विद्यार्थीले www.learning.cehrd.edu.np मार्फत् शिक्षा तथा मानव स्रोत विकास केन्द्रका कक्षा १ देखि १० सम्मका सबै पाठ्यसामग्री हेर्न पाउनेछन् ।

यसका लागि पाँच जीबी डेटा उपलब्ध गराइने उनको भनाइ छ । विद्यालयलाई स्थानीय तहको सिफारिसका आधारमा एकमुष्ट रुपमा पनि सिम दिन सकिने भन्दै उनले यसबाट टेलिकमलाई पर्ने घाटा प्रयोगकर्ता र सेवा प्रदायकको साझेदारीमा सरकारले व्यहोर्ने बताए । मासिक शुल्कमा भ्याट, टिएससी र ओटी कर भने समावेश नभएकाले यसका लागि थप शुल्क बुझाउनुपर्ने प्रवक्ता जोशीले प्रष्ट पारे ।