इटहरीः कोरोना महामारीको बढ्दो जोखिमका बीच मोरङको विराटनगर महानगरपाकिाले कक्षा–११ को परीक्षा तालिका सार्वजनिक गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।
महानगरपालिकाले शुल्क असुली गर्न परीक्षा सञ्चालनको निर्णय गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । अन्य स्थानीय तहमा परीक्षा नभएको पृष्ठभूमिमा शिक्षा मन्त्रालयले माघ सम्ममा परीक्षा लिन भन्दै हाललाई परीक्षा सञ्चालन नगर्न गरेको आग्रहविपरीत महानगरले परीक्षा लिन खोजेपछि विद्यार्थीले आज सोमबार निर्णय खारेजीको माग गर्दै महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका छन् ।
परीक्षा सञ्चालन भए संक्रमणको जोखिम बढ्ने विद्यार्थीको तर्क छ । विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा असोज २५ गतेबाट ३ कात्तिकसम्म सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै उनीहरुले परीक्षा सञ्चालनका लागि अनलाइन माध्यम प्रयोग हुनुपर्नेमा जोड दिएका छन् । विद्यार्थीका अभिभावकले पनि महानगरपालिकाका मेयर भीम पराजुली नै निजी विद्यालयको सञ्चालक भएको भन्दै दैनिक करिब एक सय जना संक्रमित थपिने गरेको अवस्थामा शुल्क असुलीका लागि मेयरले नै निर्णय लाद्न खोजेको आरोप लगाएका छन् ।
कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्देशिका अनुसार महानगरले परीक्षा सञ्चालनमा समन्वय गरेको भन्दै महानगरपालिकाका शिक्षा शाखा प्रमुख दुर्गा खतिवडाले भने निर्णयको बचाउ गरेका छन् ।