इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले दुई बुँदे मागसहित चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजको अगुवाइमा दैनिक रुपमा उपकुलपति कार्यालय अगाडि धर्ना दिन् थालेका छन् ।

तलब वृद्धि बढुवाको मुख्य माग प्रतिष्ठानले पूरा नगरेपछि आन्दोलनमा उत्रनु परेको धर्नामा सहभागी डा. विष्णु पोख्रेलको भनाइ छ । उनका अनुसार प्रतिष्ठानले वृद्धि भएको तलब दिन आनाकानी गरिरहेको छ । बढुवा प्रकृया दुई वर्षभन्दा बढी समयदेखि अवरुद्ध हुँदा चिकित्सकको बढुवामा अन्यौल हुनुका साथै प्राध्यापक अभावमा अध्ययन तथा सेवा प्रभावित भएको उनको भनाइ छ ।

कोभिडको उपचारमा खटेका स्वास्थ्यकर्मीले हालसम्म जोखिमभत्ता नपाएको उनको गुनासो छ । उनले प्रतिष्ठानले लिखित सहमति गरी बढुवाको वातावरण तयार नगरेसम्म आन्दोलन जारी रहने बताएका छन् । आन्दोलनका क्रममा प्रतिष्ठानको मागप्रतिको उदासिनतामाथि कटाक्ष गर्दै मौन धारणासमेत गर्ने गरिएको छ ।