इटहरीः मोरङको विराटनगर महानगरपालिकाले आगामी असोज २५ गतेदेखि कार्तिक ३ गतेसम्मका लागि तय भएको कक्षा ११ को वार्षिक परीक्षा स्थगित चर्को दबाबपछि स्थगित गरेको छ ।

सरकारले विद्यालय तत्काल नखोल्न निर्देशन दिएकोमा सोविपरीत महानगरले परीक्षा तालिका सार्वजनिक गरेपछि निजी विद्यालयसँग साँठगाँठ गरी महानगरले शुल्क असुल्ने नियतले निर्णय लादेको भन्दै विद्यार्थी तथा अभिभावकले विरोध जनाएका थिए । सरकारले माघसम्ममा परीक्षा लिन निर्देशन दिएको भएपनि तत्काल परीक्षा लिने तयारी गर्दा थप जोखिम बढाउने भन्दै विद्यार्थीहरुले आज सोमबार विराटनगर महानगरपालिकामा धर्ना दिएका थिए भने अभिभाकहरुले अदालतमा मुद्दा चलाउने बताएका थिए ।

अभिभावक तथा विद्यार्थी दुवैले चर्को विरोध गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार बसेको सर्वपक्षीय बैठकले परीक्षा स्थगित गर्ने सहमति गरेको हो । परीक्षा स्थगित सम्बन्धि निर्णय भने जिल्लास्तरीय संकट व्यवस्थापन समितिको बैठकबाट हुने प्रमुख जिल्ला अधकारी कोषहरि निरौलाले जानकारी बताए ।

परीक्षा गर्न नसकिने अवस्था हुँदाहुँदै परीक्षाको तालिका सार्वजनिक भएका कारण विद्यार्थीहरु अन्यौलमा परेकोले सबैको सहमतिमा परीक्षा स्थगित गर्ने तयारी गरेको प्रशासन कार्यालयले जनाएको छ । विराटनगरमा रहेका २६ निजी र ११ सरकारी स्तरका कक्षा ११ र १२ अध्यापन हुने शिक्षण संस्थामा करिब ८ हजार विद्यार्थी अध्यनरत रहेको बताइएको छ ।