इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज मंगलबार बिहान एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको सुनवर्षी नगरपालिका–७ घर भएका ६८ वर्षीय पुरुष रहेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार असोज ५ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले असोज १० गते प्रतिष्ठान रिफर गरेको थियो ।

लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्याका कारण डाइलासिस गराइरहेका उनलाई ज्वरो, खोकी र स्वासप्रस्वासमा समेत समस्या देखिएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा आज बिहान करिब ३ बजे उनको ज्यान गएको प्रवक्ता सापकोटाले बताए ।