इटहरीः मोरङको विराटनगरमा हिजो सोमबार जिल्ला प्रशासन कार्यालय, प्रहरी र औषधि व्यवस्था विभागको संयुक्त अनुगमन टोलीले नियमविपरीत सञ्चालनमा रहेका पाँच वटा फार्मेसीलाई औषधि किनबेचमा रोक लगाउँदै सिल गरेको छ ।

२१ ओटा औषधि पसलको अनुगमन गरी नवीकरण नभएका र अनुमतिपत्र नलिएका व्यक्तिबाट औषधि बिक्री हुने गरेका फार्मेसीमा ताला लगाइएको औषधि व्यवस्था विभागको विराटनगर शाखा प्रमुख सञ्जीव कट्टेलले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा नोबेल शिक्षण अस्पतालभित्र दुई वटा सुस्वास्थ्य र मेडिकेम फार्मेसी एक वर्षदेखि नवीकरण नै नगरिकन सञ्चालन भइरहेको फेला परेको थियो ।

अस्पताल फार्मेसी निर्देशिका २०७२ ले अस्पतालभित्र उसको आफ्नो नाममा दर्ता रहेकोबाहेक अरु फार्मेसी सञ्चालनमा रोक लगाएको छ । तर आफ्नो नाममा पनि फार्मेसी चलाइरहेको नोबेलले अरु बाहिरका व्यक्तिलाई समेत अस्पतालभित्र निजी फार्मेसी सञ्चालन गर्न दिइरहेको फेला परेको छ । अनुगमन टोलीले अनुमति प्राप्त व्यवसायीविनै बाहिरका मान्छेलाई राखेर औषधि बिक्री गर्ने नोबेल अस्पताल र विराट नर्सिङ होम आसपासमा सञ्चालनमा रहेका अरु तीन वटा फार्मेसी सिल गरेको छ । अनुगमनका क्रममा औषधि पसल सञ्चालकहरुको भागदौड मच्चिएको थियो ।