इटहरीः कोरोना संक्रमण बढिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जस्तोसुकै जटिल परिस्थिति आए पनि असोज अन्तिमसम्म पुग्ने पिसिआर किट मौज्दात रहेको बताएको छ ।

कोरोना संक्रमण हुने क्रम बढ्दै जाँदा सरकारले यसअघि चार पटकसम्म परीक्षणका लागि अत्यावश्यक किट खरिद गरिसकेको बताउँदै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्था शाखाकाअनुसार हाल मौजदात रहेको किटले असोजसम्म जस्तोसुकै जटिल परिस्थिति आए पनि परिक्षणमा कुनै असर पर्ने छैन । हाल मन्त्रालयसँग दुई लाख आरएनए एक्ट्रासन किट र तीन लाख पिसिआर किट मौज्दात रहेको व्यवस्थापन महाशाखाका प्रमुख डा. रमेश खरेलले बताए । असोजपछि कोरोना संक्रमणबारे सरकारले गर्ने पूर्वानुमान संख्या अनुमानअनुसार थप स्वास्थ्य सामग्री खरिद गर्ने उनको भनाइ छ ।

मन्त्रालयले असोजको अन्त्यसम्ममा एक लाख ८० हजार व्यक्ति संक्रमित भई २० हजार संक्रमित आईसीयू र भेन्टिलेटरमा भर्ना हुने प्रक्षेपण गरेको थियो । मन्त्रालयको तथ्याङ्क अनुसार हाल देशका ४० भन्दा बढी प्रयोगशालाबाट दैनिक करिब १४ हजार जनाको संक्रमण परिक्षण हुने गरेको छ । दैनिक २० हजार जनाको परिक्षण क्षमता भएपनि क्षमताको पूर्ण उपयोग भने हुन सकेको छैन । संक्रमितको चापलाई व्यवस्थित गर्न सरकारले अक्सिजनको पर्याप्त आपूर्तिका लागि सातै प्रदेशमा अक्सिजन प्लान्ट सञ्चालनको पनि तयारी गरेको छ । मन्त्रालयका अनुसार नेपालमा हिजो सोमबारसम्म ७३ हजार तीन सय ९४ जना संक्रमितको पहिचान भएको छ ।