इटहरीः इटहरीका पुराना होटल व्यवसायी शिब पराजुलीको कोरोना संक्रमणका कारण गए राती मृत्यु भएको छ । विगत ३० बर्षअघिबाट इटहरीमा होटल व्यवसाय संचालन गर्दै आएका ५६ बर्षीय पराजुलीको उपचारका क्रममा गए राती ९ बजेर ४५ मिनेटमा मृत्यु भएको हो ।
ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई हिजो उपचारका लागि विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । सो अस्पतालमा उपचार असम्भव भएपछि धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा राती साढे ९ बजे भर्ना गरिएको थियो । प्रतिष्ठानको कोभिड अस्पताल पुर्याउदा उनको स्वास्थ्य अवस्था ज्यादै कमजोर भएको थियो । सो अस्पतालको भेन्टिलेटरमा राखेर उपचार शुरु गरेको १५ मिनेटमा पराजुलीको मृत्यु भएको हो । उनलाई दीर्घरोग नभएको प्रतिष्ठानले जनाएको छ ।
पछिल्लो समय पराजुली व्यवसायसंगै सामाजिक सेवामा पनि लागेका थिए । उनी आफै खटेर इटहरी उपमहानगरले रंगशालामा निर्माण गरेको आईशोलेसनमा बिहान बेलुका कोरोना संक्रमितहरुलाई खाना र खाजा खुवाउँदै आएका थिए । पराजुलीले इटहरीमा जनता माविको गल्लीमा खाना तथा नास्ताको होटल सुरु गरेका थिए । त्यसपछि त्यहाँबाट बीपी चौंक पश्चिम उत्तर आफ्नै घरमा होटल संचालन गरेका थिए । पछि होटल संचालन भएको घर बिक्री गरि पुनः इटहरी उपमहानगरपालिका गेट अगाडी दक्षिण तर्फको घरमा होटल सुरु गरेका थिए ।
उनको होटल स्वच्छ, स्वादिलो खाना र खाजाका लागि प्रख्यात छ । इटहरी उपमहानगरपालिकाका धेरै कर्मचारीहरु उनकै होटलमा खाना र नास्ता खाँदै आएका छन् । उनका उपचारका लागि इटहरी उपमहानगरका मेयर उपमेयर पनि हिजोबाटै खटेका थिए । होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली सहितको टोलीले पनि उनको उपचारमा जुटेका थिए । इटहरीको होटल इतिहासमा राम्रो नाम लेखाउन सफल मिलनसार, इमान्दार व्यवासायीको मृत्युले होटल व्व्यवसाय क्षेत्रको ठुलो क्षति पुगेको पराजुलीले बताए ।