इटहरीः मोरङको विराटनगरमा निजी अस्पतालले मनोमानी शुल्क असुल्दै कोरोना परीक्षण गरिरहेका छन्।
यस क्षेत्रका निजी अस्पतालहरुमा कोरोना परीक्षणको शुल्क सरकारले तोकेभन्दा दोब्बरसम्म पर्ने गरेको छ । सरकारले दुई हजार रुपैयाँमा परीक्षणका सबै काम सम्पन्न गर्न निर्देशन दिएपनि अटेर गर्दै निजी ल्याबहरुले चार हजारसम्म असुल्ने गरेका छन् । जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण अनुमति लिएर विराटनगरका न्युरो अस्पताल, नोबेल र विराट मेडिकल कलेजले मनपरि शुल्क असुलिरहेका छन् । विराटनगरमै पिसिआर मेसिन ल्याएर परीक्षण थालेको मोरङको बुढीगंगा २ टंकीसिनवारीस्थित विराट मेडिकल कलेजले आफ्नै तीन तहको मापदण्ड बनाएर शुल्क निर्धारण गरेको छ। उसले पिसिआर परीक्षण शुल्क भन्दै १ हजार ९९९ रुपैयाँ लिएर त्यसमा ६ सय रुपैयाँ अतिरिक्त ‘सुरक्षा सावधानी शुल्क’ लिने गरेको विराट मेडिकल कलेजका पिसिआर ल्याब प्रमुख प्रमेशराज देवकोटाले बताए ।
विराटनगरकै अर्को न्युरो अस्पतालले पिसिआर परीक्षण शुल्क तीन हजार आठ सय ९९ रुपैयाँ तोकेको अस्पतालका निर्देशक राजेश भट्टराईले बताए । साथै एक हजार पाँच सय ५० रुपैयाँमा परीक्षण गर्ने दाबी गरिरहेको विराटनगरकै नोबेल शिक्षण अस्पतालले सेवाग्राहीसँग २ हजार रुपैयाँ असुलिरहेको छ । नोबेलमा पिसिआर परीक्षण गर्न जानेलाई उसले १ हजार ५५० रुपैयाँकै रसिद काट्न लगाईस्वाब संकलन शुल्कका नाममा थप ४५० रुपैयाँ असुल्ने गरेको छ । नोबेलले देशभरमै सस्तो मूल्यमा पिसिआर परीक्षण गरिरहेको प्रबन्धक नारायण दाहालको जिकीर छ ।