इटहरीः इटहरीमा कोरोना संक्रमणबाट दोस्रो ब्यक्तिको मृत्यु भएको छ । विहिवार राति ९.४५ बजे इटहरीमा होटल व्यवसाय संचालन गर्दै आएका शिव पराजुलीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनि लामो समयदेखि इटहरीमा पराजुली होटल सञ्चालन गर्दै आएका थिए । उनलाई बचाउन इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले हदैसम्मको प्रयास गरेकी छिन् । शिवलाई गत मंगलवार छोरीले विराट मेडिकल कलेजमा उपचारको लागि लगेपछि उपप्रमुख गौतमले थाहा पाइन् ।
उपप्रमुख गौतमका अनुसार शिवलाई सोमवारदेखि नै ज्वरो आएको थियो । ‘उहाँलाई सोमवार नै गाह्रो भएछ अनि इटहरी अस्पतालमा गएर औषधि लिनु भएछ । औषधि खाँदा पनि झन् झन् गाह्रो हुन थालेपछि मंगलवार विहान उहाँकी छोरीले इटहरी उपमहानगरको एम्बुलेन्समा हालेर विराट मेडिकल कलेज लग्नुभएछ । मैले उहाँ विरामी हुनुहुन्छ भनेर मंगलवार ४ बजे थाहा पाएँ’, गौतमले भनिन् । उनका अनुसार शिवलाई अस्पताल लगेको थाहा पाउन साथ फोन गररेको र शिवको फोन नउठेको बताइन् । ‘मैले शिव दाइलाई विरामी भएर अस्पताल लगेको र कोरोनासँग मिल्नने लक्षण देखिएको थाहा पाएपछि फोन गरेँ तर उहाँको फोन उठेन । सायद उहाँलाई अस्पताल लगेर बेडमा राख्दा फोन यताउता भएको थियो होला । त्यसपछि मैले हाम्रो नगरका दुबै एम्बुलेन्स चालकलाई फोन गरेर र विराट मेडिकल कलेज विराटनगर लागेको थाहा पाएँ’, गौतमले भनिन् ।
उनि त्यहाँ छन् भन्ने थाहा पाउन साथ गौतम तत्काल विराटनगर गइन् । ‘मैले जानकारी पाउन साथ साँझ साढे ६ बजे अस्पताल पुगे । म त्यहाँ पुग्दा भरखर उहाँलाई एमर्जेसीबाट निकालेर आइसियुमा लगिएको रहेछ । मैले उहाँलाई भट्दा थप हौसला मिल्छ भनेर भेट्न खोजे तर आइसियुमा विरामी लगेपछि भेट्न मिल्दैन रछ । त्यहि पनि मैले त्यहाँका चिकित्सकसँग आग्रह गरेर थोरै ढोकाबाट टाउको छिराएर हेरे र उहाँलाई दाजु म आको छु म सबै हेर्छु तपाईँ आतिनु पर्दैन, केहिको चिन्ता गर्नुपर्दैन, पैसाको पनि चिन्ता गर्नु पर्दैन भने’, गौतमले भनिन् । उहाँ एक होटल व्यवसायी भएपनि आर्थिक अवस्था कम्जोर भएको गौतमले बताइन् ।
गौतमले शिवको उपचारमा संलग्न चिकित्सकसँग बुझ्दा जुनसुकै बेला जे पनि हुन सक्छ भनेर जवाफ पाइन् । ‘मैले उहाँको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग पनि बुझे । उहाँहरुले जुनसुकै बेल जे पनि हुन सक्छ तपाईँहरुले ‘माइन्ड मेकअप’ गर्नुस् भने भन्नुभयो । त्यसपछि मैले विरामीलाई डिस्चार्ज दिनुस् हामी धरानको कोभिड विशेष अस्पताल लान्छौँ भनेर अनुरोध गरे । तर कोरोना रिपोर्ट नआएसम्म त्यहाँबाट निकाल्न नमिल्ने रहेछ र धरानमा पनि विरामी लिने रहेनछ’, गौतमले भनिन् । गौतमले राति १२ बजेसम्म त्यही अस्पतालमा बसेर आफ्ना नजिकका साथी तथा आफन्तसँग उहाँको उपचारको लागि पैसा जुटाउन लागिन् । ‘उहाँ होटल व्यवसयी भएपनि उहाँको आर्थिक अवस्था कमजोर छ भन्ने कुरा मलाई थाहा थियो । म उहाँको बहिनी जस्तो परिवारकै सदस्यको रुपमा रहेकाले मलाई उहाँको अवस्था थाहा थियो । त्यसपछि मैले राति १२ बजेसम्म त्यहि अस्पतालमा बसेर चिनजानका सबैसँग उहाँको उपचारको लागि अनुरोध गरे । फोन नम्बर हुनेलाई फोनमा र सामाजिक सञ्जालमा ५० जान साथिहरुसँग अनुरोध गरे । त्यसपछि उहाँको छोरीलाई साथी मामा आएपछि म इटहरी आँए’, गौतमले भनिन् ।
‘मैले साथीहरुसँग अनुरोध गरेपछि बुधवार विहानसम्म उहाँको उपचारको लागि २५ हजार पैसा जम्मा भएको थियो र म पैसा लिएर विराटनगर गएँ । उहाँको छोरी र मलाई अस्पतालले जे पनि हुनसक्छ भनेपछि के हो के हो भनेर मैले उहाँकी श्रीमतीलाई लिएर अस्पताल गएँ । मलाई जस्तै श्रीमतीलाई पनि चिकित्सकले थोरै ढोका खोलेर बोल्न दिए । त्यतीखेर उहाँले हामीलाई यहाँबाट मलाई डिस्र्चाज गर भन्नुभयो । निमोनियको औषधीले उहाँ गल्नुभएकाले त्यसो भन्नुभएको होला । मैले उहाँलाई हुन्छ म प्रक्रिया पुरा गरेर लग्छु भनेर तल झरेँ’, गौतमले भनिन् ।
३ बजेतिर फेरि गएर सबै प्रक्रिया पुरा भएको र कोरोनाको रिपोर्ट आएपछि धरान लग्छौँ भनेर शिवलाई भन्दा हुन्छ भनेर हातले इसार गरेका गौतमले जानकारी दिइन् । उहाँको दिउँसो ४ बजे रिपोर्ट आएको र थप उपचारको लागि वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा लगिएको उनले जानकारी दिइन् । ‘हामीले उहाँलाई लिएर जान ढिलो गरेउँ । कोरोनाको रिपोर्ट नआइ त्यो अस्पतालले नि डिस्चार्ज नदिने र धरानमा पनि कोरोना रिपोर्ट नआई विरामी नलिन भएकाले साँझ ६ बजे मात्र धरान लिएर गयौँ । उहाँको छोराले पहिलादेखि सबै काम गरिरहेकोले उनले मात्र शिव दाइलाई छुन पाए । पछि एम्बुलेन्समा हाल्दा उनले मात्र सकेनन् । दाई पनि हल्का थकित हुनुभयो र छोराले मात्र एम्बुलेन्समा हाल्न सकेनन् । १० मिनेटसम्म छोराले प्रयास गर्दा पनि नसके पछि मैले खुट्टा समाए र छोराले हातमा समाएर दाइलाई एम्बुलेन्समा हाल्यौँ’, गौतमले भनिन् ।
यदि आफूले शिवलाई गाडिमा हाल्न सहयोग नगरेको भए र त्यही कारण उनको मृत्यु भएको भए त्यसले ठुलो प्रभाव पर्ने भएर कोरोनाको कुनै प्रवाह नगरि एम्बुलेन्समा हाल्न सहयोग गरेको गौतमले बताइन् । शिवको छोरालाई सँगै राखेर गौतम पनि धरान गइन् । ‘दाइलाई एम्बुलेन्समा हालेपछि छोरालाई बुबासँगै बस भनेर म पनि उहाँलाई लिएर धरानको कोभिड १९ अस्पताल पुगेँ । बाटोमा दाइले बेलाबेलामा टाउको उठाएर बाहिर हेर्नु भएछ । हामी सेउति पुगेउँ, तिकुने पुगेउँ भन्दै बोल्नु पनि भएछ । धरान पुर्याउँदासम्म दाइको अवस्था ठिकै थियो’, गौतमले भनिन् । धरानको कोभिड अस्पताल पुर्याएपछि विरामी बाहेक अरुलाई भित्र जान नदिने भएकाले आफूहरु घर फर्र्कीएको र एक घण्टापछि उहाँको अवस्था ‘जटिल’ छ भनेर फोन आएको गौतमले जानकारी दिइन् । त्यसपछि राति९.४५ बजे शिवको मृत्यु भएको खबर आएको बताइन् । प्रदेश पोर्टलसँग १० मिनेट फोनमा सम्बाद गर्दै गौतमले शिवको मृत्युले आफूलाई ठूलो शोक परेको बताइन् । साथै गौतमले इटहरीको रंगशालामा रहेको आइसोलेसन बनाउन शिव पराजुलीले गरेको सहयोगको पनि स्मरण गरिन् ।