इटहरीः सप्तरीका एक वृद्ध पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । उनको नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा भर्ना हुन नपाउँदै उनको मृत्यु भएको हो ।

नोबेल शिक्षण अस्पतालका अनुसार पोजोटिभ रिपोर्ट आएको पाँच मिनेटमै मृत्यु भएपछि थप उपचारका लागि संक्रमितलाई आइसोलेसनमा भर्ना गर्न नपाइएको हो । सप्तरीको विसनपुर–५ घर भएका ६७ वर्षीय पुरुषको बिहीबार दिउँसो १ः५० बजे मृत्यु भएको छ । वृद्धलाई बुधबारसाँझ नोबेलको आकस्मिक कक्षाको आईसीयूमा भर्ना गरेर उपचार थालिएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए ।

दाहालका अनुसार वृद्धको यसअघि विराटनगरकै म्याक्स अस्पतालमा उपचार हुँदै थियो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएसँगै म्याक्सले नोबेलमा रेफर गरेको हो । उपचार थाल्दै नोबेलले स्वाब संकलन गरेर आफ्नै प्रयोगशालामा पीसीआर परीक्षणका लागि पठाएको थियो ।

बिहीबार दिउँसो १ः४५ बजे पोजेटिभ आएको र त्यसको पाँच मिनेट पनि बित्न नपाउँदै संक्रमितको मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गर्ने तयारी गरिएको भए पनि केही बेरमै मृत्यु भएकाले वृद्धले आइसोलेसनबाट भने उपचार पाउन नसकेको दाहालको भनाइ छ । मृत्यु भएका वृद्धमा मधुमेह, उच्च रक्तचाप र मृगौलाको पुरानो समस्या रहेको जनसम्पर्क अधिकृत दाहालले जानकारी दिएका छन् ।