इटहरीः मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजमा उपचारार्थ ल्याइएका दुई जना कोरोना संक्रमित पुरुषको एम्बुलेन्सभित्रै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको खनारका ९२ वर्षीय वृद्ध र नोबेल अस्पतालबाट रिफर गरिएका सिरहा सुकीपुर नगरपालिका–२ का ५५ वर्षीय पुरुष रहेको विराट मेडिकल कलेजका आइसोलेसन इन्चार्ज सुनिल देवले बताए । उनका अनुसार तीन दिनअघि संक्रमण पुष्टि भएका वृद्ध र सोमबारदेखि नोबेलको भेन्टिलेटरमा रहेकोमा हिजो बिहीबार संक्रमण देखिएका पुरुषको एम्बुलेन्सभित्रै मृत्यु भएको हो ।
वृद्धमा दम, उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको तथा अर्का पुरुषमा श्वासप्रश्वास र निमोनियाको समस्या रहेको उनको भनाइ छ । उनीहरु दुवैको आज दिउँसो १२ः३० बजे ज्यान गएको देवले बताए । आज दिउँसो विराटनगर–१४ की एक कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको थियो ।