इटहरीः प्रदेश १ मा आज शुक्रबार हालसम्मकै सबैभन्दा बढी एक सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार संक्रमित हुनेहरुमा सुनसरीका २३ जना, मोरङका एक सय ४६ जना, झापाका २१ जना, तेह्रथुमका दुई जना र प्रदेश १ बाहिरका पाँच जना रहेका छन् । सुनसरीको इटहरीका २ महिला र ७ पुरुष गरी नौ जना, धरानमा २ महिला र ३ पुरुष गरी पाँच जना, दुहवीका तीन जना पुरुष, हरिनगरमा दुई जना पुरुष, गढी र रामधुनीमा १–१ जना पुरुषमा संक्रमण पुष्टि हुँदा थप दुई जना संक्रमितको भने स्थानीय ठेगाना यकिन हुन सकेको छैन । विराटनगरमा ४७ जना महिला र ७६ पुरुष गरी एक सय २३ जनामा संक्रमण देखिएको छ । यसैगरी, मोरङकै सुन्दरहरैंचामा ४ महिला र ५ पुरुष, पथरीशनिश्चरेमा २ महिला र ७ पुरुष, रंगेलीमा १ महिला र २ पुरुष, कटहरी र बुढीगंगामा १–१ पुरुषमा पनि आजै संक्रमण पुष्टि भएको छ ।
उता झापाको मेचीनगरमा चार महिला र नौ पुरुष गरी १३ जना, भद्रपुरमा दुई महिला र दुई पुरुष गरी चार जना, कनकाईमा दुई जना पुरुष, दमक र बिर्तामोडमा १–१ जना पुरुष, तेह्रथुमको छथरमा १ महिला, स्थानीयतह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका पाँच जना पुरुषमा संक्रमण देखिएको छ । यससँगै प्रदेश १ भर हालसम्म कुल सात हजार एक सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा आज नौ सय ५८ जनाको पीसीआर परिक्षण गर्दा एक सय ३२ जना पुरुष र ६५ जना महिला संक्रमितको पहिचान भएको छ ।
यसैबीच, आज मोरङको विराट मेडिकल कलेजबाट आठ जना, न्युरो अस्पतालबाट तीन जना र होम आइसोलेसनमा रहेका एक सय ५५ जना संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म प्रदेशभरका तीन हजार चार सय ३८ जनाले कोरोनामाथि विजय प्राप्त गरेका छन् । हालसम्म प्रदेशभर जम्मा एक लाख २५ हजार ६ सय ८१ जनाको पीसीआर परिक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।