इटहरीः मोरङको विराटनगरस्थित कोसी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा आज शनिबार बिहान २ बजे एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका–३ की ६८ वर्षीया वृद्धा रहेको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । उनका अनुसार कोरोना संक्रमण देखिएसँगै वृद्धालाई असोज ११ गते केन्द्रको आइसोलेसनमा भर्ना गरिएको थियो । लामो समयदेखि दम र खोकीबाट ग्रस्त वृद्धालाई संक्रमणपछि स्वासप्रस्वासमा समस्याका साथै अक्सिजनको कमी भएकाले उनको ज्यान गएको उपचार केन्द्रका प्रमुख वरिष्ठ फिजिसियन डा.दीपक सिग्देलले बताए ।