पथरीः मोरङको पथरी नगरपालिकाका क्षेत्रमा समुदायमै कोरोना संक्रमण फैलिएपछि तत्कालका लागि नगरपालिका कार्यालय र त्यसका मातहतका कार्यालय बन्द रहने भएका छन् । जनप्रतिनिधि तथा कर्मचारीमा समेत गरी समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएकाले बन्द गरिने भएको हो ।
नगर कार्यपालिका र कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको शनिबार(आज) बसेको संयुक्त बैठकले अति आवश्यकीय काम बाहेक सम्पूर्ण प्रशासनिक सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गर्ने निणर्य गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाकारी दिए ।
नगरका जनप्रतिनिधि, कर्मचारी, नगर अस्पतालका स्वास्थ्यकर्मी सहितमा कोरोना देखिएको र उनीहरु तथा उनीहरुसँग सम्पर्क हुनेहरुको आइतबार कोरोना स्वाब संकलन गरी त्यसको पीसीआर रिपोर्टको अवस्था अनुरुप कार्यालय सञ्चालन सम्बन्धी निणर्य हुने उनले बताए ।
जसमा नगरपालिका कार्यालय, त्यस मातहतका विषगत कार्यालय, वडा कार्यालयहरु तत्कालका लागि बन्द रहने छन् । नगर अस्पताल र त्यस मातहतका स्वास्थ्य निकायमा समेत दैनिक नियमित औषधि खाने विरामीका लागि औषधि वितरणको व्यवस्थापन मिलाउँदै जाँच तथा उपचार सेवा बन्द गरिने निणर्य भएको छ ।
यसका साथै शैक्षिक संस्थाहरुको भर्ना वा अभिलेखिकरण कार्य स्वास्थ्य सतर्कता अपनाएर सञ्चालन गर्ने र त्यो बाहेक विद्यार्थी सहभागि गराई प्रत्यक्ष पठनपाठनका कुनै पनि गतिविधि नगर्ने पनि निणर्य गरिएको छ ।
साप्ताहिक हाट बजार पनि अर्को सूचना नभएसम्मका लागि बन्द गरिने छ । यस प्रकारको निणर्य विपरित कार्य भएमा नगरपालिका र प्रहरी कार्यालयले कारबाही समेत गर्ने निणर्य भएको छ ।
नगर प्रमुख एवम् समन्वय समिति संयोजक दिलीपकुमार राईको अध्यक्षताको सो बैठकले अत्यावश्यक काममा बाहिर निस्कनु पर्दा मास्क, सेनिटाइजरको प्रयोग गरी भौतिक दूरी कायम गरी स्वास्थ्य सतकर्ता अपनाउन समेत नगरवासीमा अनुरोध गर्ने निणर्य गरेको छ ।