इटहरीः चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ औँ पटक अनसनमा बसेका डा. गोविन्द केसीलाई जटिल स्वास्थ्य अवस्थाका कारण त्रिवि शिक्षण अस्पतालले आज आइतबारदेखि अक्सिजन लगाएर उपचार सुरु गरेको छ ।
डा.केसीको उपचारमा संलग्न डा.तोसिमा कार्कीका अनुसार डा.केसीलाई छाति र स्वासप्रस्वासमा समस्या भएपछि अक्सिजन लगाउनु परेको हो । चिकित्सक टोलीले आईसीयूमा लैजान खोजेपनि डा.केसीले जान अस्वीकार गरेको डा.कार्कीको भनाइ छ । उनका अनुसार औषधिसमेत सेवन गर्न नमान्दा डा.केसीको प्रतिरोधात्मक क्षमता घटिरहेको भने उनी बोल्नसमेत नसक्ने भएका छन् । उनको स्वास्थ्य अवस्थालाई मध्यनजर आजदेखि अस्पतालले उनलाई बाहिरी मानिससँग भेटघाट गर्न रोक लगाएको छ ।
गत भदौ २९ गते जुम्लामा अनसन सुरु गरी स्वास्थ्यमा समस्या आएपछि काठमांडौको त्रिवि शिक्षण अस्पतालमा अनसनलाई निरन्तरता दिएका डा.केसीसँग वार्ता गर्न सरकारले हालसम्म कुनै पहल गरेको छैन । यसअघि डा.केसीसँग भएका भएका सहमतिको कार्यान्वयन गर्न पनि सरकारले नै विभिन्न बहानाबाजी गर्दै आलटाल गरिरहेको छ ।