इटहरीः विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् ।

 गैरआवासीय नेपाली संघका अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ३९ हजार ५ सय २८ नेपाली कोरोना संक्रमित भएका छन् । स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार यो साता दक्षिण अफ्रिकामा रहेका १ जना नेपालीको ज्यान गएको छ । समितिका अनुसार कोरोना संक्रमणका कारण विभन्न १८ देशमा रहेका २ सय ६६ जना नेपालीको ज्यान गएको छ ।

 समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । यस्तै, नेपालमा मात्र ८४ हजार ५ सय ७० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने तीमध्ये ६२ हजार ७ सय ४० जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ७४ दशमलव २ प्रतिशत हो । हालसम्म नेपालमा ५ सय २८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये १ लाख २४ हजार ९८ जनामा कोरोना संक्रमण भएको छ । तीमध्ये ९८ हजार ६ सय ५६ जना कोरोना भाइरसबाट मुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले सार्बजनिकस्थलमा कोरोना संक्रमणको जोखिम उच्च रहेको जनाएको छ । समितिका संयोजक सापकोटाले कोरोना संक्रमणबाट बच्ने एक मात्र उपाय स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुको अर्को विकल्प नभएको हुँदा सबैलाई माक्स प्रयोग गर्न र हात धुन आग्रह गरेका छन् । उनले कोरोना संक्रमणको आशंका लागेमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेका छन् ।