इटहरीः मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आज मंगलबार बिहान दुई जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुष र मोरङकै रतुवामाई नगरपालिका–८ का ४५ वर्षीय पुरुष रहेको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । उनका अनुसार कानेपोखरीका पुरुषमा सोमबार साँझ संक्रमण पुष्टि भएकोमा आज बिहान करिब ३ बजे नोबेलकै आइसोलेसन सेन्टरको भेन्टिलेटरमा उनको मृत्यु भएको हो । मृतक पुरुष विगत पाँच वर्षदेखि ब्लड क्यान्सरबाट ग्रस्त रहेको दाहालको भनाइ छ ।
यसैगरी, रतुवामाईका पुरुष असोज १३ नोबेलमा भर्ना भएकोमा भोलिपल्ट कोरोना संक्रमित देखिएका थिए । लामो समयदेखि मधुमेहबाट पीडित उनमा संक्रमणपछि ज्वरो, निमोनिया र टाइफाइटसमेत देखिएकोमा आइसोलेसनमा उपचाररत रहेका उनको आज बिहान २ः३० बजे ज्यान गएको जनसम्पर्क अधिकृत दाहालले जानकारी दिए । हाल अस्पतालको आइसोलेसनमा ३४ जना संक्रमित उपचाररत रहेको उनको भनाइ छ ।