इटहरीः नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले चिकित्सा शिक्षा सुधारको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा.गोविन्द केसीका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज बिहान सामाजिक सञ्जाल ट्वीटरमा डा.कोइरालाले ‘डा.गोविन्द केसीको मागप्रति राज्य किन निर्मम र कठोर ?, लोकतन्त्रमा समेत सत्याग्रहीको आवाज सुनिँदैन भने राज्यबाट के अपेक्षा र आशा गर्ने ?’ भन्दै ट्वीट गरेका छन् । हिजो मंगलबार शिक्षा सचिव र सहसचिवको टोलीले डा.केसीसँग भेट गरी अनसन स्थगित गर्न माग गरेको पृष्ठभूमिमा डा.कोइरालाले डा.केसीको समर्थनमा ट्वीट गरेका हुन् ।
गत भदौ २९ गतेदेखि जुम्लामा १९औँ सत्याग्रह सुरु गरी स्वास्थ्य अवस्थ जटिल बन्दै गएपछि त्रिवि शिक्षण अस्पतालमा अनसनलाई निरन्तरता दिएका डा. केसीले भने सरकारी वार्ता टोलीसँग औपचारिक सहमति गरेर मात्र अनसन तोड्ने अडान लिएका छन् ।