इटहरीः झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा आज बुधबार दुई महिनाका शिशुको मृत्युपछि कोरोना संक्रमण देखिएको छ ।
संक्रमित हुनेमा झापाकै भद्रपुर–८ का शिशु रहेको अस्पताल प्रशासनले जनाएको छ । शव आफन्तलाई बुझाएको तीन घण्टापछि परीक्षणको नतिजा पोजिटिभ देखिएको अस्पतालको भनाइ छ । अस्पतालका स्रोतका अनुसार निमोनिया र स्वासप्रस्वासमा समस्या भएका शिशुलाई हिजो मंगलबार बिहान आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।
भर्नालगत्तै स्वाब संकलन गरिएका शिशुको ६ घण्टामै मृत्यु भएको हो । मृतक शिशुको दाहसँस्कारका लागि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ स्वास्थ्य शाखाको टोली लिएर उनको घरमै पुगेका थिए । स्वास्थ्य शाखाले शिशुको परिवारका सदस्य तथा छिमेकीहरुको पनि स्वाब संकलन गरी परीक्षण गर्ने भएको छ ।