इटहरीः नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २५ हजार सात जना पुगेको छ ।

आज एकैदिन हालसम्मकै उच्च तीन हजार चार सय ३९ जनामा संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज देशभरका विभिन्न प्रयोगशालामा १४ हजार दुई सय नौ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार चार सय ३९ जना संक्रमितको पहिचान भएको हो । यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ९४ हजार दुई सय ५३ जना पुगेको छ ।

देशभर हालसम्म भएका कुल ११ लाख १३ हजार चार सय ८५ पीसीआर परीक्षणबाट यो संख्यामा संक्रमित पहिचान भएका हुन् । संक्रमितमध्ये आज देशभर एक हजार एक सय २६ जना निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको कुल संख्या ६८ हजार ६ सय ६८ जना पुगेको छ । देशभरका कुल कोरोना संक्रमितमध्ये ७२.८ प्रतिशतले कोरोनामाथि विजय प्राप्त गरेका छन् । हाल देशभर १४ हजार चार सय ११ जना होम आइसोलेसन, १० हजार पाँच सय ९६ जना संस्थागत आइसोलेसन तथा चार हजार एक सय ६४ जना क्वारेन्टाइनमा रहेका छन् । आज कोरोना संक्रमणका कारण १५ जनाले ज्यान गुमाएका छन् ।

यससँगै हालसम्म देशभर संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या पाँच सय ७८ जना पुगेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले केहीदिन अघि सक्रिय संक्रमितको कुल संख्या २५ हजार नाघेमा देशव्यापी लकडाउन गर्न सरकारलाई सिफारिस गरेको थियो ।