इटहरीः प्रदेश १ मा कोरोना संक्रमणको दरमा तिव्र वृद्धि भएको छ ।
सावधानी अपनाउन र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न प्रदेश सरकारले सर्वसाधारणलाई सचेत गराइरहेको भएपनि संक्रमण नियन्त्रणमा नआई विस्तार हुँदै गएको छ । हिजो बुधबार मात्र प्रदेश १ मा हालसम्मकै उच्च तीन सय ४३ जनामा संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा ३६ जना महिला र दुई सय सात जना पुरुष रहेका छन् । हिजो गरिएको एक हजार तीन सय १० जनाको परीक्षणबाट तीन सय ४३ जना संक्रमितको पहिचान भएको हो । यसअघि मंगलबार कुल ६ सय ३६ जनाको परीक्षण गर्दा एक सय ९५ जना महिला र एक सय ३५ जना पुरुष गरी तीन सय ३० जना संक्रमितको पहिचान भएको थियो । यसैगरी सोमबार भएका कुल पाँच सय ९२ जनाको पीसीआर परीक्षणबाट ८८ जना पुरुष र ७६ जना महिला गरी प्रदेशभर जम्मा एक सय ६४ संक्रमितको पहिचान भएको थियो ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभर हालसम्म भएका एक लाख ३० हजार ६ सय ७१ पीसीआर परीक्षणबाट आठ हजार चार सय ४७ जनामा संक्रमण देखिएको छ । कुल संक्रमितममध्ये ८७ जनाको मृत्यु भई चार हजार एक सय ३२ जना निको भएपछि हाल प्रदेशभर चार हजार तीन सय १५ जना सक्रिय संक्रमित रहेका छन् । जनस्वास्थ्य विज्ञ डा. नवराज सुब्बाले लापरबाही र असावधानीका कारण पछिल्लो समय प्रदेश १ मा कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको बताए । उचित सावधानी एवं सतर्कता अपनाउन नसक्दा र स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्ने क्रममा चुक्दा संक्रमण तिव्र रुपमा फैलिइरहेको उनको भनाइ छ ।