इटहरीः बितेको एक सातामा इटहरीमा झण्डै १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जम्मा संक्रमितको संख्या ६ सय ४३ रहेको इटहरीमा यो साता मात्रै झण्डै १३० जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । पछिल्लो समय इटहरीमा कोरोनाबाट संक्रमित हुनेको संख्या तुलनात्मक रुपले बढेको छ । हाल १३० देखि १४० जनाको प्रतिदिन कोरोना परिक्षण हुने गरेकोमा कम्तिमा १०/१५ जनासम्म कारोनाबाट संक्रमित हुने गरेका छन् । कहिले कहिँ संक्रमित हुनेको संख्या ५० को हाराहारीमा पुग्छ ।
३ महिना लामो लकडाउन र त्यसपछि पटक पटक गरेर लगाइएका निषेधाज्ञा पनि अहिले हटिसकेको छ । कोरोना संक्रमणको अवस्था भयावह हुँदै जाँदा इटहरीमा चहलपहल बढेको छ । हुन त अब दशैँको चटारो सुरु भयो । यो बेलामा लकडाउन गर्नसक्ने अवस्था पनि छैन् । इटहरी प्रदेश १ का अन्य सहर भन्दा बढी जोखिम युक्त सहर हो । किन कि यहाँ पहाड र तराइका मानिसहरु किनमेलका लागि आउने गर्छन् । त्यति मात्र हैन सडक सञ्जालबाट प्रदेश १ का अधिकांश जिल्लासँग प्रत्यक्ष सम्बन्ध रहेको इटहरीमा संक्रमणको खतरा झन् झन् बढ्दै गएको छ ।
यता आफ्ना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि इटहरी उपमहानगरले नगर तथा वडाबाट हुने काम बन्द गरेको छ । पटक पटक सूचना जारी गर्दै उपमहानगरले उपमहानगर र वडा कार्यालयहरु बन्द रहने जानकारी दिएको हो । पछिल्लो पटक उपमहानगरले थपेको बन्दको अबधि शनिवारसम्म रहेको छ । इटहरीमा कोरोनाको अवस्था जटिल बन्दै गएको भन्दै उपमहानगरले सकभर बाहिर ननिस्कन र निस्कनै परे उच्च स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरिरहेको छ । यदि जनस्तरबाट लापरबाहि भएमा कोरोनाको जोखिम झन् भयावह बन्ने भन्दै उपमहानगरले सजक भएर बजार तथा भिडभाडमा जान अपिल गरेको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ९ को रंगशालामा रहेको आइसोलेसनको क्षमता पनि १०० बेडको मात्र छ । यदि अहिलेकै गतिमा कोरोना संक्रमण बढ्दै गएमा अबको केहि दिनमा नै त्यो आइसोलेसन भरिने देखिन्छ । त्यसपछि आउने अवस्था हामीले आंकलन पनि गर्न सक्दैनौँ । फेरी नेपालीले धुमधामका साथ मनाउने चाडपर्व दशैँ, तिहार, छैठ, ल्होसार तथा उधौलि–उभौलि पर्व पनि लगातार आउन लागेका छन् । यो अवस्थामा हामीले अझ सजक हुने बेला आएको छ । किन कि चाडपर्वको समयमा परिवारबाट टाढा आइसोलेसनमा बस्नु परेमा आफैँलाई घाटाको विषय हो । त्यसैले यो अवस्थामा अनावश्यक काममा घर बाहिर ननिस्कनु नै उचित हुन्छ ।