इटहरीः माध्यमिक तहको परीक्षा व्यवस्थापनका लागि प्रदेश १ को विराटनगरमा रहेको परीक्षा व्यवस्थापन कार्यालय इटहरीमा आउने भएको छ ।

विराटनगरमा कार्यालय सञ्चालनका लागि भवन अभाव हुने भएपछि कार्यालय इटहरीमा स्थानान्तरण गर्न प्रदेश सरकारले तयारी सुरु गरेको हो । परीक्षा व्यवस्थापन कार्यालयका क्षेत्रीय निर्देशक डम्बरकुमार बतासले स्थानीय सरकारको असहयोगका कारण विराटनगरमा जमिन उपलब्ध हुने अवस्था नभएपछि जग्गाका लागि इटहरी उपमहानगरपाालिकालाई पत्राचार गरिएको जानकारी दिए । पत्र प्राप्त भएसँगै इटहरी उपमहानगरपालिकाले जनता माध्यामिक विद्यालयको नाममा रहेको जग्गामध्येबाट १० कठ्ठा उपलव्ध गराउने भएको छ ।

प्रदेश सरकारसँग जग्गाको विषयमा कुरा गरी प्राविधिक प्रशिक्षण तालिम केन्द्र (वर्तमान सामाजिक विकास मन्त्रीको निवास भएको) को जमिन उपलव्ध गराउन माग गर्दा प्रदेशका प्रमुख सचिवले अस्वीकार गरेपछि जग्गा खोज्दै इटहरीतर्फ गएको कार्यालय प्रमुख बतासले बताएका छन् । भवन निर्माणका लागि जमिन जरुरी भएकोले जहाँ जग्गा पाइन्छ कार्यालय त्यहीं बनाउन आफूहरु तयार रहेको उनको भनाइ छ । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ बाटै कार्यालय भवन निर्माणको काम थालनी गर्ने भन्दै बोर्डले रकम विनियोजन गरेको थियो । प्रदेश परीक्षा व्यवस्थापन कार्यालयले भवन निर्माणका लागि ६ करोड रुपैयाँ विनियोजन गर्न माग गरेकोमा बजेट पुलमा रहेको कार्यालय प्रमुख बतासको भनाइ छ ।

परीक्षा बोर्डको प्रादेशिक कार्यालय विराटनगरमा भन्दा इटहरीमै पायक पर्ने भन्दै बतासले पहाडी क्षेत्रबाट र अन्य जिल्लाबाट आउने विद्यार्थी तथा विद्यालयहरुलाई विराटनगरभन्दा इटहरी नै सहज हुने बताए । प्रादेशिक परीक्षा व्यवस्थापन कार्यालय इटहरीमा स्थापना हुने भएपछि इटहरीको शैक्षिक एवं प्राज्ञिक जमात हर्षित देखिएका छन् । विराटनगर महागनरपालिकाका प्रमुख भीम पराजुलीले अहिलेसम्म प्रदेश परीक्षा व्यवस्थापन कार्यालयले जग्गा आवश्यकता परेकोबारे आफुसँग कुनै कुरा नगरेको, त्यस विषयमा औपचारिक जानकारीसम्म नभएको भन्दै अनभिज्ञता प्रकट गरे ।