इटहरीः मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालद्वारा सञ्चालित बहुप्राविधिक शिक्षालयका प्रशासन प्रमुख मुक्तिनाथ दाहालको शंकास्पद आत्महत्याबारे छानबिनको माग गर्दै प्रतिष्ठानका विद्यार्थीले प्रदर्शन गरेका छन् ।

vidyarthi

उनलाई आत्महत्याका लागि प्रतिष्ठानकै अध्यक्ष र कार्यकारी निर्देशकले उक्साएको आरोप लगाउँदै उनीहरुले दुवै अधिकारीहरुमाथि आत्महत्या दुरुत्साहन अभियोगमा कारबाही गरिनुपर्ने माग गरेका छन् । प्रतिष्ठान परिसरमा प्रदर्शनका क्रममा आक्रोशित विद्यार्थीहरुले शैक्षिक माफिया मूर्दावाद, पीडित परिवारलाई न्याय देऊ, तानाशाही प्रशासन बन्द गरजस्ता नारा लगाउनुका साथै प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनलगत्तै मृतक दाहालको घरमा पुगेका विद्यार्थीले न्यायका लागि निरन्तर आन्दोलन गर्ने बताएका थिए । कर्मचारीको मृत्युपछि प्रतिष्ठानको कार्यालय असोज २४ गते सम्मका लागि बन्द भएको छ । गत सोमबार शिक्षालयको कक्षाकोठामा झुन्डिएको अवस्थामा दाहालको शव भेटिएको थियो । सोको भोलिपल्ट घटनामा संलग्न रहेको आरोपमा प्रतिष्ठानका अध्यक्ष गुरु बरालमाथि आक्रोशित स्थानीयले कुटपिटसमेत गरेका थिए ।