इटहरीः मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा मोरङको रंगेली नगरपालिका–४ का ७२ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका–१२ का ४५ वर्षीय पुरुष रहेको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार बुधबार बिहान अस्पताल भर्ना गरिएका रंगेलीका वृद्ध पुरुषमा सोही दिन राति कोरोना संक्रमण देखिएपछि आईसीयूमा उपचारका क्रममा बिहीबार राति ९ः३० बजे ज्यान गएको हो । मृतक लामो समयदेखि थाइराइड र फोक्सोको समस्याबाट पीडित रहेको उनले जानकारी दिए ।
यसैगरी, सुनसरीका पुरुषलाई असोज १७ गते अस्पताल भर्ना गरिएकोमा सोही दिन कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचार थालिएकोमा आज शुक्रबार बिहान करिब ७ बजे उनको मृत्यु भएको प्रबन्धक दाहालले बताए । अन्य कुनै दीर्घ रोग नभएका उनको फोक्सो र स्वासप्रस्वासको समस्याका कारण मृत्यु भएको चिकित्सकको भनाइ रहेको दाहालले बताए ।