इटहरीः इटहरीका दुईसहित सुनसरीमा आज शुक्रबार एकैदिन पाँच जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । मृत्यु हुनेहरुमा इटहरी–६ का ६८ वर्षीय, इटहरी–४ का २० वर्षीय, धरान–८ का ४६ वर्षीय, दुहबीका ५२ वर्षीय र धरान–१२ का ४५ वर्षीय पुरुष रहेका छन् ।
मृतकमध्ये इटहरी–६ का ६८ वर्षीय पुरुषमा असोज २० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संक्रमण पुष्टि भई २२ गते प्रतिष्ठानकै कोभिड सेन्टर भर्ना भएकोमा अन्य कुनै दीर्घरोग नभएका उनको आज बिहान १२ः३० बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । यसैगरी, मोरङ जिल्ला कारागार विराटनगरमा लागूऔषध मुद्दामा पुर्पक्षका लागि २०७६ माघ २१ गतेदेखि थुनामा रहेका इटहरी–४ का महरा थरका २० वर्षीय पुरुषमा लक्षण देखिएपछि बिहीबार बिहान कोसी अस्पताल भर्ना गरिएकोमा आज बिहान १०ः१५ बजे उनको मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख डा.लक्ष्मीनारायण यादवले बताए ।
यसैगरी, धरान–८ का ४६ वर्षीय पुरुषमा हाइपरटेन्सनको दीर्घकालिन समस्या रहेकोमा असोज २० गते प्रतिष्ठान भर्ना भएका उनको २१ गते बिहान २ः४५ बजे ज्यान गएको बीपी प्रतिष्ठानले जनाएको छ । यसैगरी, दुहबीका पुरुषमा किड्नीको दिर्घकालीन समस्या रहेकोमा असोज १२ गते प्रतिष्ठान भर्ना भएका उनमा सोही दिन कोरोना पुष्टि भई कोभिड सेन्टरमा उपचारका क्रममा आज बिहान २ बजे उनको ज्यान गएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए ।
यसैगरी, मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा धरान–१२ का ४५ वर्षीय फुटबल खेलाडी पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताएका छन् । दाहालका अनुसार स्वासप्रस्वास र फोक्सोको समस्याका कारण असोज १७ गते नोबेलमा भर्ना भएका उनको १८ गतेदेखि आइसोलेसनमा उपचार भइरहेकोमा उपचारकै क्रममा आज मृत्यु भएको हो ।