इटहरीः इटहरीकी एकसहित दुई जना कोरोना संक्रमित महिलाको मोरङमा उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका–५ घर भएकी ६४ वर्षीया र मोरङको पथरी शनिश्चरे नगरपालिका– ६ घर भएकी ९२ वर्षीया महिला रहेकी छन् । इटहरीकी महिलाको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजमा मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले बताए । उनका अनुसार असोज १५ गते अस्पताल भर्ना भएकी महिलाको आज शनिबार बिहान १०ः४० बजे आइसोलेसनमा उपचाररत रहेको अवस्थामा ज्यान गएको हो ।
यसैगरी, पथरीशनिश्चरेकी महिलाको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा आजै बिहान मृत्यु भएको अस्पतालका फोकल पर्सन अजित बस्नेतले बताए । उनका अनुसार ती महिला असोज १८ गते कोरोना संक्रमित भएकी थिइन् । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार मृतकको शव व्यवस्थापनको तयारी गरिएको छ ।