इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा धरान ८ का ६२ वर्षीया महिला, दुहबी नगरपालिकाका ६५ वर्षीय पुरुष र धनकुटाका ६१ वर्षीया महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए । उनका अनुसार धरानकी महिला असोज २१ गते संक्रमित देखिएकी थिइन् भने दुहबीका पुरुषमा असोज २१ गते संक्रमण देखिएको थियो ।

यसैगरी धनकुटाकी महिलालाई जिल्ला अस्पताल धनकुटाले असोज १६ गते प्रतिष्ठान पठाएको प्रवक्ता श्रेष्ठले बताए । यससँगै प्रतिष्ठानमा हालसम्म उपचारका क्रममा ज्यान गुमाउने कोरोना संक्रमितको कुल संख्या ४९ जना पुगेको श्रेष्ठको भनाइ छ ।