इटहरीः धरानमा पीसीआर परिक्षण गराउने मध्ये ५० प्रतिशतमा कोरोना भाइरसको संक्रमण पुष्टि हुने गरेको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार अहिले धराना दैनिक २ सयको हाराहारीमा कोरोना परिक्षण गर्दा ९० देखि १ सय जनाको रिपोर्ट पोजेटिभ आउने गरेको छ । प्रदेश १ का पहाडी जिल्लासँग प्रत्यक्ष सम्बन्ध रहेको सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ सय पुगेको छ । मेहेताका अनुसार धरानमा संक्रमित हुने मध्ये ४६३ जना निको भएर घर फर्किएका छन् । संक्रमित मध्ये १३ जनाको मृत्यु भएको पनि महाशाखा प्रमुख मेहेताले जानकारी दिए ।
धरानमा अहिले (आइतवार) सम्म ४ हजार ४५८ जनाको स्वाव संकलन गरि परिक्षण गर्दा ११ सय जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको मेहेताले बताए । पछिल्लो समय कोरोना परिक्षणको दायरा बढेसँगै पोजेटिभ हुनेको संख्या पनि तुलनात्मक रुपमा बढेको छ । पहिले ३०/४० जनाको पीसीआर गर्दा २/३ जनामा कोरोना पोजेटिभ देखिने गरेको तर अहिले २ सयको हाराहारीमा कोरोना परिक्षण गर्दा ८०/९० जनाको रिपोर्ट पोजेटिभ आउने गरेको मेहेताले बताए । अहिले परिक्षण गर्ने मध्ये ५० प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको उनले बताए ।
उनका अनुसार धरानमा कोरोना संक्रमितको संख्या बढी आउने गरेको र त्यसले जनमानसमा नकरात्मक प्रभाव परेको भन्दै नअतिन आग्रह गरे । हाल धरानमा कोरोनाका लक्षण देखिएकाहरुको मात्र कोरोना परिक्षण गरिने गरेकाले त्यो संख्या अझै न्यून भएको जानकारी दिए । उनका अनुसरी अहिले ३७ जना अस्पताल आइसोलेशन र ५ सय जना होम आइसोलेशनमा रहेका छन् ।