इटहरीः कोरोना संक्रमणका कारण आज एकैदिन प्रदेश १ मा पाँच जनाको ज्यान गएको छ ।
यससँगै प्रदेशभर हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय एक जना पुगेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज मृत्यु हुनेहरुमध्ये सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा उपचाररत तीन जना र मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालको आइसोलेसनमा उपचाररत रहेका दुई जना रहेका छन् ।
हिजोसम्म प्रदेश १ मा ९६ जना संक्रमितको मृत्यु भएको थियो । मृतकहरुमध्ये सबैभन्दा बढी मोरङका ४५ जना रहेका छन् । यसैगरी, सुनसरीका २९ जना, झापाका १० जना, ताप्लेजुङका एक जना, धनकुटाका एक जना र प्रदेशबाहिरका १५ जना रहेका छन् । कुल मृतकमध्ये महिलाको संख्या २८ छ भने पुरुषको संख्या ७३ रहेको छ ।