इटहरीः मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आज सोमबार बिहान सुनसरीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–५ घर भएका ३७ वर्षीय पुरुष रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । दाहालका अनुसार गत शनिबार सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्ष्णबाट संक्रमित देखिएकोमा आइतबार साँझ नोबेलमा भर्ना भएपछि राति १२ बजेदेखि आइसोलेसनमा राखी उपचार सुरु गरिएका उनको आज बिहान ६ः५० बजे उपचारका क्रममा ज्यान गएको हो ।
मृतक लामो समयदेखि मृगौलाको समस्याबाट ग्रस्त रही डाइलासिस गराइरहेको दाहालको भनाइ छ । अस्पतालमा हालसम्म नौ जना कोरोना संक्रमितको मृत्यु भइसकेको बताउँदै प्रबन्धक दाहालले हाल अस्पतालमा ४४ जना संक्रमित उपचाररत रहेकोमा नौ जनाको गम्भीर अवस्थामा आईसीयूमा उपचार भइरहेको बताए ।