इटहरीः मोरङको उर्लाबारी नगरपालिकाले कार्यालयमा फैलिएको कोरोना संक्रमणका कारण आज सोमबार एक सूचना जारी गरी कार्यालय र मातहतका वडा कार्यालयबाट प्रवाहित हुने सबै सेवा बन्द गरेको छ ।
मेयर खड्ग फागोसहित कार्यालयका कर्मचारीहरु कोरोना संक्रमित भएकाले कन््ट्याक्ट ट्रेसिङका लागि सबै जनप्रतिनिधि र कर्मचारीको पीसीआर परीक्षण गर्न भन्दै परीक्षणको नतिजा नआएसम्मका लागि सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ । कोरोना संक्रमण देखिएपछि हाल होम आइसोलेसनमा रहेका मेयर फागोले पीसीआर परीक्षणका लागि कर्मचारी र जनप्रतिनिधिको स्वाब संकलन सुरु भइसकेको जानकारी दिएका छन् ।
कम्तिमा तीन दिनसम्म कार्यालयको सेवा अवरुद्ध हुने उनको भनाइ छ । फागोलाई उनका सवारीचालक इन्द्र चापागाईँबाट संक्रमण भएको हो । पाँच दिनअघि चालकमा कोरोना देखिएकोमा हाल मेयर फागोका साथै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश खड्का पनि संक्रमित भएका छन् ।