इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत साउन १९ गते मुटुको शल्यकृयाका लागि आएकी धरान–१६ की १७ वर्षीया तृप्ति राना मगरको औषधि खरिदमा प्रतिष्ठान अगाडि सञ्चालित बिर्तामोड मेडिकल हलले ठगी गरेको छ ।
साउन २३ गतेदेखि सो पसलबाट औषधि खरिद गर्न थालेकी उनकी आमा रितालाई सो पसलले तीन दिनको औषधि खर्चबापत ६७ हजार एक सय २७ रुपैयाँको बिल जारी गरेको खुलासा भएको छ । कोभिड संक्रमणको त्रासका कारण प्रतिष्ठानमा शल्यकृया हुन नसकेपछि साउन २६ गते काठमांडौस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा शल्यकृया गराएकी तृप्तिको औषधिको बिलमा टारगोसिड नामक औषधिको मूल्य बढी लिएको देखिएको छ भने फिर्ता गरिएको पानीको तीन सय २० रुपैयाँसमेत जोडिएको पाइएको छ ।
सो बिलबाट मेडिकलले आफूबाट १९ हजार दुई सय २० रुपैयाँ ठगी गरेको बिरामीकी आमा रिताको भनाइ छ । प्रतिष्ठानको ड्र«ग एडमिनिस्ट्रेसन रेकर्ड तथा डिस्चार्ज पेपर अनुसार बिरामीलाई तिन दिनमा टारगोसिड औषधी ४ पटक दिएको देखिन्छ । २३ गते ६ सय एमजि, २४ गते दुई पटक गरेर १२ सय एमजि र २५ गते ६ सय एमजि दिइएको रेकर्डमा उल्लेख गरिएको छ । रेकर्ड अनुसार ४ पिस ४ सय एमजि र ४ पिस २ सय एमजिको औषधी प्रयोग भएको छ । यता पसलबाट आएको बिलमा भने १० पिस ४ सय एमजि र ५ पिस २ सय एमजि लगेको देखाएको छ ।
बिर्तामोड मेडिकल हलले दिएको मितिसमेत नलेखिएको बिल नम्बर २४२१ मा ४ सय एमजिको २ पिस, २ सय एमजिको १ पिस, बिल नम्बर ६४४ मा ४ सय एमजिको २ पिस, २ सय एमजिको १ पिस, सोही बिलमा पुनः ४ सय एमजिको ३ पिस र थप १ पिस लेखिएको छ भने बिल नम्बर २४२० मा ४ सय एमजिको २ पिस र २ सय एमजिको २ पिस औषधि खरिद गरेको देखाइएको छ । बिलमा लेखिएको मूल्य अनुसार ४ सय एमजिको प्रति पिस ३ हजार ५ सय २९ रुपैया रहेको छ भने २ सय एमजिको १ हजार ५ सय ८४ रुपैया रहेको छ । बिल अनुसार उनले लगेको टारगोसिड औषधी ४ सय एमजिको १० पिस, २ सय एमजिको ५ पिस रहेको छ । यता अस्पतालले प्रयोग गरेको औषधी ४ सय र २ सय एमजिको ४÷४ पिस भएको छ ।
प्रयोग गरिएको भन्दा ६ पिस र १ पिस बढी देखिन्छ । जसको मूल्य बिल अनुसार १९ हजार १ सय ७९ रुपैया रहेको छ । अस्पतालले औषधी खरिद गर्न दिएको ड्रग स्लीपमा लेखिएकोे औषधिको परिमाण केरमेट गरिएको बिरामीकी आमा रिताको भनाइ छ । खरिद गरेको औषधीको परिमाण नै धेरै भएपछि आफू ठगिएको थाहा भएको उनले बताइन् । बिलमा भएका सबै औषधीको खोजि गर्ने हो भने थप रकम ठगिएको हुन सक्ने उनको भनाइ छ । उनले औषधी पसललाई तिर्नुपर्ने रकम तिरेकी छैनन् ।
उनले ६७ हजार १ सय २७ रुपैया तिर्नुपर्ने देखिन्छ । ठगिएको रकम १९ हजार २ सय २९ रुपैया रहेको छ । आफू ठगिएको थाहा पाएपछि इलाका प्रशासन कार्यालय धरानमा आवश्यक छानबिनका लागि उनले निवेदन दिएकी छिन् । मेडिकल सञ्चालक नविन देवले भने ठगीको आरोप अस्वीकार गरेका छन् ।