इटहरीः प्रदेश १ मा आज सोमबार दिउँसोसम्म थप चार जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

आज ज्यान गुमाउने संक्रमितहरुमा मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत दुई जना पुरुष तथा सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिप्ठानमा उपचाररत एक एक पुरुष तथा होम आइसोलेसनमा रहेका एक पुरुष रहेका छन् ।

यससँगै प्रदेशभर हालसम्म ७९ जना पुरुष र २८ जना महिला गरी जम्मा एक सय सात जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् । मृतकहरुमा सुनसरीका ३३ जना, मोरङका ४६ जना, झापाका १० जना,ताप्लेजुङ, धनकुटा र उदयपुरका एक एक जना रहेको सामाजिक विकास मन्त्रालयको कोभिड–१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति संयोजक डा.सरोज विशालले बताए ।

उनका अनुसार मृतकमध्ये ९२ जना प्रदेश १ भित्रका र १५ जना प्रदेश १ बाहिरका रहेका छन् । संयोजक दाहालले हिजो आइतबार चार सय नौ जनामा संक्रमण पुष्टि भएपछि प्रदेशभर संक्रमितको कुल संख्या १० हजार तीन सय जना पुगेको बताए । हालसम्म प्रदेशभरका आठ ओटा प्रयोगशालामा गरिएका जम्मा ३७ हजार पाँच सय १७ पीसीआर परीक्षणको नतिजाबाट यो संख्यामा संक्रमितको पहिचान भएको उनको भनाइ छ । संक्रमितमध्ये निको हुनेको संख्या चार हजार आठ सय १२ रहेको छ ।