इटहरीः कोरोना संक्रमण भई उपचार गराईरहेका सुन्दरहरैंचा नगरपालिका ४३ बर्षीय पुरुष सहित २ जनाको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिकामा अवस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा मोरङको सुन्दरहरैंचा नगरपालिका ३ का ४३ वर्षीय पुरुषको बिहान ८.१० बजेतिर मृत्यु भएको छ ।
अस्पतालका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि बेहोस् अवस्थामा ती पुरुषलाई तीन दिनअघि अस्पताल भर्ना गरिएको थियो । पछि स्वाब परीक्षण गर्दा कोरोना देखिएकामा होस नै नखुली उनको मृत्यु भएको बताइएको छ ।
कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराईरहेका बूढीगंगा गाउँपालिका ५ का ७१ बर्षीय पुरुष बिहान २.१५ मा मृत्यु भएको छ ।
शनिबार कोरोना पुष्टि भएपछि उनलाई कोसी अस्पताल भर्ना गरिएको थियो । उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा.दीपक सिग्देलका अनुसार वृद्धमा पुरानो दमको समस्या थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।