फिक्कलः मेची आयुर्वेद औषधालय (अस्पताल)ले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गराउने जडिबुटीहरुको चिया (क्वाथ)निशुल्क वितरण अभियान सुरु गरेको छ । आम नागरिकहरु धेरै जम्मा हुने स्थान तथा कार्यालयहरुमा जम्मा हुने सर्वसाधारणहरुलाई लक्षित गरी अस्पतालले क्वाथ वितरण सुरु गरेको हो । पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय इलाम,सूर्योदय नगरपालिका र आयुर्वेद अस्पतालबाट सेवा सुरु गरिएको छ ।

अभियान अन्र्तगत सेवा लिन आउने सेवाग्राही, बटुवा एवम सेवा प्रदाय आफैले क्वाथ थापेर खाने गरी व्यवस्था मिलाइएको अस्पतालका प्रमुख तिर्थ आचार्यले बताए । अभियानलाई कोरोना महामारी रोकथाम तथा नियन्त्रण प्रयोजनार्थ इलामका सबै जसो स्थानीय तहमा सञ्चालन गर्ने तयारी रहेको आचार्यले बताए । साथै स्थानीय जडिबुटीको पहिचान र प्रयोग, भान्सामा रहेको मसलाजन्य औषधीको प्रयोग र आइसोलेसनमा अपनाउनुपर्ने सवाधानीका बिषयमा पर्चा एवम पम्प्लेट बनाइएको छ ।

कोरोना प्रतिरोधात्मक क्षमता एवम स्वास्थ्य जिवनशैली विकासका निम्ति जिल्लाका सवै स्थानीय तहमा रहेको क्वारेन्टाइनमा योगासन गराउने, जडिबुटीजन्य औषधीहरु वितरण गर्दै आएको छ । भरखरै मात्र मेची आयुर्वेद औषधालय (अस्पताल)को सहजीकरण तथा जिल्ला संकट व्यवस्थापन केन्द्र र सूर्योदय नगरपालिकाको आयोजनामा योग, ध्यान, साउण्ड हिलिङ, जडिबुटीको प्रयोग सहितको १६ दिने अभियान सम्पन्न भएको छ ।