धरानः बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालले ३ महिना अघि खरिद गरिएको भेन्टिलेटर बिग्रेका कारण बारे अख्तियारले अनुसन्धान शुरु गरेको छ । कोभिड अस्पतालमा भेन्टिलेटर बिग्रेर थन्किए पछि अख्तियारले अनुसन्धान गरेको हो ।
सोमबार आयोगको इटहरी कार्यालयबाट आएको चार जनाको टोलीले अस्पताल निर्देशक डा.गौरिशंकर शाहलाई भेट गरी आवश्यक सोधपुछ गरेका थिए । कोरोना अस्पतालको भेन्टिलेटर खरिदमा भएका फायलहरु माग गरेको छ ।
अख्तियारले भेन्टिलेटर विग्रनुको कारण, कुन सप्लायर्सबाट, कुन प्रक्रियाबाट खरिद गरिएको हो रु कति वटा भेन्टिलेटरले काम नगरेको सोधपुछ गरेको छ । प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरी एक साता यता काठमाडौंमा छन् । प्रतिष्ठानमा काम गर्न नसकेको भन्दै चर्को आलोचना खेप्दै आएका उनले स्वास्थ्यमन्त्री र प्रधानमन्त्री मिलाउन मेडिकल माफिया तथा नेकपाका नेताहरु गुहारिरहेको स्रोतको दावि छ ।

कोरोना अस्पतालको नाममा विना टेन्डर करिब २ करोड ५० लाख मूल्यका विभिन्न स्वास्थ्य सामग्री खरिद गरिएकोमा ती सबै प्रक्रियामा करारमा नियुक्त गरीएका स्वकीय सचिव दिलिप भट्टराईको संलग्नता छ । संघीय सरकार तथा प्रदेश सरकारको साँढे १२ करोड बजेटमा वीपी प्रतिष्ठानको हाताभित्र १ सय वेडको कोभिड–१९ अस्पताल निर्माण गरिएकोमा प्रयोग भएका कोरोना स्वास्थ्य सामग्री र उपकरणमा भ्रष्टाचार गरेको आरोप छ । अख्तियारको इटहरी कार्यालयमा समेत उजुरी परेपछि आयोगले अनुसन्धान गरीरहेको छ । भेन्टिलेटरको लागत अनुमान भन्दा १५ लाख महंगो पर्न गएको स्रोतको दावि छ ।