इटहरीः इटहरी उपमहानगरपालिकाले आइतबारदेखि सुरु गरेको बजार अनुगमन र नियमनलाई युद्धस्तरमा अगाडि बढाएको छ । मंगलबार इटहरीकी उप–प्रमुख लक्ष्मी गौतम, नगरका स्वास्थ्य शाखाका कर्मचारी, नगर प्रहरी र इलाका प्रहरीसहतको टोलिले इटहरीको वडा नम्बर ९ को बुधबारे हटीया लाइनमा अनुगमन गरेका छन् । अनुगमनको क्रममा मास्क विना पसल सञ्चालन गर्ने, सवारी साधन चालाउने, सवारीसाधनमा आवत जावत गर्ने तथा बाटोमा हिडडुल गर्नेलाई कारबाहि गरिएको छ ।
उपमहानगरले मापदण्ड नै बनाएर बजार अनुगमन गरेका हो । मापदण्ड अनुरुप नै बजारमा विना मास्क हिडन् र पसल सञ्चालन गर्नेलाई एक सय रुपैयाँ जरिवाना तिराइएको छ । कोरोनाको महामारीमा लापरवाहि गरेको भन्दै उपमहानगरको टोलिले मास्क दिने र जरिवाना तिराउने गरेको थियो । सोहि क्रममा कसैले उपमहानगरको कदमलाई स्वागतयोग्य भन्दै खुसी साथ जरिवाना तिरेका थिए । कतिपयले त अनुगमन टोलिले चेतावनी नै नदिइ एक्कासी जरिवाना तिराएकोमा आपत्ती जनाए र आक्रोसीत पनि बने ।
यता उप–प्रमुख गौतमले भने नागरिकका स्तरबाट लापरवाही भएकाले कोरोना फैलिएको बताइन् । उनले कोरोना संक्रमणको अवस्था इटहरीमा भयावह हुँदा पनि नागरिकहरु सचेत नहुनु दुखद भएको बताइन् ।