एजेन्सीःअमेरिकामा कोभिडबाट दुईपटक संक्रमित भएका एक व्यक्तिको दोस्रोपटक बिरामी पर्दा अवस्था धेरै खतरनाक बन्न पुगेपछि वैज्ञानिकहरुले कोभिड र इम्युनिटीका बारेमा थप अध्ययन आवश्यक रहेको महसुस गरेका छन् । केबल २५ वर्षका ती युवाको फोक्सोले शरीरमा पर्याप्त अक्सिजन दिन नसकेपछि उनलाई अस्पताल भर्ना गरि उपचार गर्नुपरेको हो । वैज्ञानिकहरुले यसअघिका रिसर्चमा दोस्रोपटक संक्रमित हुनु एकदम दुर्लभ बताएका छन् ।

यो घटनाले एकपटक संक्रमित भएर ठीक भइसकेपछि, हाम्रो शरीर भाइरस विरुद्ध इम्युन हुन्छ भन्ने स्वास्थ्यविद्हरुको भनाइ माथि ठूलो प्रश्न खडा गरेको छ । नेभाडाका ती व्यक्तिलाई कोरोना हुनु अगाडि कुनै स्वास्थ्य समस्या नभएको बताइएको छ । २५ मार्चमा उनलाई सबैभन्दा पहिले घाँटी दुख्ने, खोकी, टाउको दुख्ने, वाकवाकी अनि पखाला लाग्ने भएको थियो । यसपछि १८ अप्रिलमा उनी कोरोना पोजेटिभ भएका हुन् । २७ अप्रिलसम्ममा उनका सबै लक्षणहरु निको भएर गए र ९ मे मा उनको परीक्षण गर्दा नेगेटिभ आएको थियो । तर २८ मेमा फेरि उनमा तिनै लक्षणहरु दोहोरिए । यसपटक उनलाई ज्वरो आउने, रिँगाटा लाग्ने अनि पखाला लाग्ने भयो । यसरी ५ जुनमा फेरि टेस्ट गराउँदा उनी दोस्रोपटक पोजेटिभ भएको थाहा भयो । जसबेला उनको शरीरमा अक्सिजनको मात्रा एकदम कम हुँदा उनलाई स्वासप्रस्वासमा धेरै कठिनाइ भइरहेको थियो ।
वैज्ञानिकहरुका अनुसार यो घटनामा उनमा पहिलेकै संक्रमण पुनः बल्जिएको नभएर फेरि दोस्रोपटक नयाँ संक्रमण भएको हो । र दुवैचोटीका लक्षणहरुको स्तरमा पनि केही फरक पाइएको थियो । युनिभर्सिटी अफ नेभाडाका डाक्टर मार्क भन्छन्, “यसबाट के पत्ता लाग्छ भने पहिले संक्रमित भइसकेको भएपनि त्यसले भविष्यमा अर्को संक्रमण विरुद्ध नबचाउन सक्छ । यसरी पुनः संक्रमित हुने सम्भाव्यताले कोभिड–१९ को इम्युनिटी सम्बन्धी अझ गहिराइमा बुझ्न उल्लेखनीय संकेत दिन सक्छ ।”

त्यसैले एकपटक संक्रमित भएर ठीक भइसकेपछि पनि यसबाट बच्न मास्क, सामाजिक दुरी अनि सरसफाइका उपायहरु अपनाइरहन जरुरी रहेको उनले बताए । यतिबेला विश्वभरका वैज्ञानिकहरु कोरोना भाइरस र यसबाट कसरी इम्युनिटी पाउने सम्बन्धी विषयको खोज गरिरहँदा के सबै मानिस इम्युन हुन सक्छन् भन्ने प्रश्न उत्पन्न गराएको छ । त्यसैगरी ठीक भएर, नतिजा नेगेटिभ आए पनि सामान्य लक्षण देखाइरहने व्यक्ति इम्युन हुन्छ कि हुँदैन ? अनि त्यस किसिमको इम्युनिटी अर्थात सुरक्षा कतिन्जेल रहन सक्छ भन्ने प्रश्नका जवाफ पनि प्राप्त भइसकेका छैनन् । जबकि दिर्गकालीन रुपमा भाइरसले हामीमा कस्तो असर पार्नेछ भन्ने बुझ्नका लागि यी प्रश्नहरु अत्यन्तै महत्वपूर्ण छन् ।

अहिलेसम्म ३ करोड बढी कोरोनाका बिरामीलाई हेर्दा पुनः संक्रमण एकदमै दुर्लभ मानिएको छ जसका एकदम थोरै उदाहरण छन् । तर हामी अझैपनि महामारीको अन्तिम चरणमा पुगिसकेका छैनौँ जसकारण विशेषगरी दोस्रो लहरको संक्रमण फैलने डर भएका देशहरुका लागि यसबारे स्पष्ट हुन अति आवश्यक रहेको देखिन्छ । हालका रिसर्चहरुपछि कोभिडको दोस्रो लहर पहिले भन्दा सामान्य हुने विश्वास गरिएको छ । शरीरले पहिले नै सो संक्रमणसँग लडिसकेको हुँदा त्यसलाई सजिलै पहिचान गरि फेरि पनि परास्त गर्न सक्ने विज्ञहरुले बताउँदै आएका छन् ।

तर यी अमेरिकी बिरामी जस्ता कतिपय दुर्लभ घटनाका बारेमा अझै कसैले स्पष्टिकरण दिन सकेको छैन । त्यस्तै प्रतिरोधात्मक प्रणालीले पहिलोपटकको संक्रमणमा जनाएको प्रतिक्रियाले नै दोस्रो संक्रमण गम्भीर बनाइदिएको हुन सक्ने सम्भावना पनि रहेको छ । यस किसिमको अवस्था डेंगू लगायत केही रोगहरुमा देख्न सकिन्छ जसमा डेंगू भाइरस विरुद्ध लडिसकेको शरीरका तिनै एन्टिबडिजका कारण अर्को भाइरसबाट संक्रमित हुँदा समस्या उत्पन्न हुने गर्दछ ।

युनिभर्सिटी अफ इस्ट एंग्लियाका प्रोफेसर पल हन्टरका अनुसार दुईवटा संक्रमणबीच थोरै समयको अन्तर अनि दोस्रोपटक रोगको स्तर गम्भीर भएकाले पनि यो घटना अत्यन्तै चिन्ताजनक मान्न सकिन्छ । यसरी यो विषयमा अहिले नै केही निश्चित दाबी गर्न नसकिने तर यस घटनाले संक्रमण विरुद्ध हाम्रो शरीरले जनाउने इम्युन प्रतिक्रिया सम्बन्धी अझै हामीलाई धेरै कुरा थाहा नभएको स्पष्ट पारेको उनले बताए । बीबीसी