इटहरीः मोरङको विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पताल) उपचाररत एक बालकको हिजो मंगलबार ज्यान गएको छ । मृत्यु हुनेमा सिरहाको मानपुर खरसलुवा गाउँपालिकाका दुई वर्षीय सिद्धार्थ सदा रहेका छन् ।
आन्द्राको समस्याका कारण सिरहाको आरके मेडिसिटि अस्पताल लगिएका बालकको त्यहाँ उपचार सम्भव नभएपछि विराट नर्सिङ होम ल्याइएकोमा अस्पतालको लापरबाहीका कारण बालकको ज्यान गएको अभिभावकको आरोप छ । बालककी आमा सुनितादेवी सदाका अनुसार असोज १५ गते अस्पताल भर्ना भएपछि आन्द्रा फुटेको भन्दै डा.आर.के.सिंहले बालकको शल्यकृया गरेकोमा स्वास्थ्यमा समस्या देखिएपछि असोज २३ गते दोस्रो पटक शल्यकृया गरिएको थियो ।
दोस्रो शल्यकृया गरेको तीन दिनमै सोमबार साँझ बालकको ज्यान गएपछि अभिभावकले अस्पतालमाथि लापरबाहीको आरोप लगाएका हुन् । अस्पतालले भने लापरबाहीको आरोप अस्वीकार गरेको छ । शल्यकृयापछि वार्डमा रहेका बालकलाई अभिभावकले नै पानी दिँदा सर्किएपछि गम्भीर अवस्थामा पुगेका बालकको ज्यान गएको अस्पतालका प्रशासन प्रमुख पदम बिडलीको भनाइ छ ।