इटहरीः मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा शल्यकृया गरिएकी महिलाको मंगलबार बिहान ज्यान गएपछि आफन्तले अस्पतालविरुद्ध लापरबाहीको आरोप लगाएका छन् ।

आइतबार अस्पताल भर्ना भई सोमबार पाठेघरको शल्यकृयापछि सोलुखुम्बुको नोचासल्यान गाउँपालिका–४ घर भएकी ३५ वर्षीया तारादेवी भट्टराईको मंगलबार बिहान ७ बजे मृत्यु भएको अस्पतालले बताएपछि आक्रोशित आफन्तले नाराबाजी गरेका थिए । सोमबार बिहान ९ बजे डा.शान्ति सुवेदीको समूहले सफल शल्यकृया गरी भट्टराईलाई सामान्य अवस्थामा आईसीयूमा राखिएकोमा सोमबार बेलुका पुनः शल्यकृया गरी अचेत अवस्थामा भेन्टिलेटरमा राखेपछि मंगलबार अस्पतालले उनको मृत्यु भएको बताएको भट्टराईका पति ओम भट्टराईले बताए ।

उनका अनुसार शल्यकृयाअघि गरिएको परीक्षणमा ट्युमर नदेखिएकोमा पछि चिकित्सकले ट्युमर निकालेको बताएपछि उनी आश्चर्यमा परेका थिए । ट्यूमर निकाल््ने बहानामा चिकित्सकले बिरामीको आन्द्रा काटिदिएको उनको आरोप छ । अस्पतालले आफूलाई ट्युमरको शल्यकृयाबारे जानकारी नै नदिएको उनको भनाइ छ । लापरबाही गर्ने चिकित्सकमाथि कडा कारबाहीको माग गर्दै उनले हालसम्म शव बुझेका छैनन् ।

लापरबाही गरी बिरामीको ज्यान लिएको आरोप लागिरहँदा अस्पताल प्रशासन भने प्रतिकृयाविहीन बनेको छ । अस्पतालका प्रबन्धक दीपेश राईले आफू काठमांडौमा रहेको बताउँदै घटनाबारे अनभिज्ञता जनाएका छन् भने अर्का प्रबन्धक नारायण दाहाल प्रतिकृया दिनबाटै पन्छिएका छन् । शल्यकृयामा सहभागी स्त्रीरोग विभागका प्राध्यापक डा.गेहनाथ बरालले भने महिला पाठेघरको तेस्रो चरणको क्यान्सरबाट ग्रस्त रहेको बताएका छन् ।

उनका अनुसार पाठेघरको साइडबाट फैलिएको क्यान्सर पिसाब थैली र आन्द्रासम्म पुगेका कारण उनको ज्यान गएको हो । पाठेघर्मा ट्युमर देखिएपछि परीक्षण गर्दा क्यान्सरसमेत देखिएको उनको कथन छ । ट्युमर निकालिएपनि ट्युमरभित्र तीन लिटर रगत जमेको र सो रगत पेटसम्म आएका कारण बिरामीको ज्यान गएको उनले उल्लेख गरे ।