इटहरीः सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा आज बुधबार बिहान थप एक सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

इलाका प्रहरी कार्यालय र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार गरिएको परीक्षणको नतिजाबाट एक सय १३ जना नयाँ संक्रमितको पहिचान भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले बताए । उनका अनुसार एन्फामा सोमबार गरिएको ४९ जनाको पीसीआर परीक्षणको नतिजाबाट २७ जना संक्रमितको पहिचान भएको छ ।

हिजो मंगलबार एन्फामा संकलन गरिएका दुई सय १९ ओटा स्वाब नमूनाको परीक्षण नतिजा भने आज साँझसम्म आउने मेहताको भनाइ छ । नगरपालिकाको तथ्याङ्क अनुसार हिजो धरानमा कोरोना पुष्टि भएका नयाँ संक्रमितको संख्या एक सय ९७ रहेको थियो ।