इटहरीः मोरङको विराटनगरस्थित विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा अस्पतालको लापरबाहीका कारण एक जना कोरोना संक्रमित महिलाको उपचार अभावमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया महिला रहेकी छन् । मुटुको समस्याका कारण उपचारार्थ मंगलबार नर्सिङ होममा भर्ना भएकी महिलामा स्वासप्रस्वासको समस्या देखिएपछि सोही दिन भएको पीसीआर परीक्षणमा उनी संक्रमित देखिएपनि अस्पतालले कोभिड अस्पतालमा भर्ना नगर्दा उनको बुधबार साँझ ७ बजे मृत्यु भएको हो । संक्रमण पुष्टि भइसक्दा पनि दुई दिनसम्म अस्पतालले कोभिड उपचार केन्द्रमा नपुर्याई आफैँले राखेका कारण महिलाको ज्यान गएको हो ।
मुटु सम्बन्धी समस्या भएर उपचारका लागि गत मंगलबार उनलाई विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा भर्ना गरिएको थियो । श्वासप्रश्वासको पनि समस्या देखिएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजेटिभ आए पनि उनलाई थप उपचारका लागि कोभिड अस्पताल नलगिकन नर्सिङ होमले दुई दिनसम्म आफै राखेको थियो । अस्पतालमा उपचाररत कसैलाई संक्रमण पुष्टि भएमा तत्काल थप उपचारका लागि कोडिभ अस्पताल लैजानुपर्ने नियम आफ्नै कोभिड सेन्टर सञ्चालन गरेको अस्पतालले अटेर गरेको हो ।
कोभिड अस्पतालको अइसोलेसनमा नलगिकन नर्सिङ होम आफैले राखेका कारण महिलाको ज्यान गएको मृतक महिलका आफन्तको गुनासो छ । अस्पतालले पैसा असुल्नकै लागि बिरामीलाई होल्ड गरेका कारण अकालमा ज्यान गएको बताएका छन् । नर्सिङ होमले भने मृत्युलाई लुकाउने प्रयास गर्दै घटना सार्वजनिक गरेको छैन । यस विषयमा बुझ्न पटकपटक प्रशासन प्रमुख पदम विनाडीलाई फोन गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । अस्पतालले मुटुको समस्यका कारण बिरामीको मृत्यु भएको दाबी गरेको छ ।