इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा इटहरीकी एक महिलासहित पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिकाकी एक ७५ वर्षीया महिला, सुनसरीकै धरान उपमहानगरपालिकाका ५८ वर्षीय एक पुरुष र ४४ वर्षीया एक महिला गरी दुई जना तथा तेह्रथुमका ३१ वर्षीय र ४९ वर्षीय गरी दुई जना पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए ।

उनका अनुसार इटहरी उपमहानगरपालिका–२० की ७५ वर्षीया महिलाको आज बिहीबार बिहान १२ः०५ बजेतिर उपचारकै क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार उच्च रक्तचापको समस्या रहेकी वृद्धामा असोज २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन प्रतिष्ठानमा भर्ना गरी उपचार थालिएकोमा उपचारका क्रममा आकस्मिक कक्षमै उनको ज्यान गएको श्रेष्ठको भनाइ छ । यसैगरी धरान उपमहानगरपालिका–९ का दुई जना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानकै प्रयोगशालामा असोज २५ गते कोरोना संक्रमण पुष्टि भएका ५८ वर्षीय पुरुषको कोभिड –१९ अस्पतालमा बुधबार राति ११ः५५ बजेतिर मृत्यु भएको हो ।

असोज २८ गते कोभिड अस्पतालमा भर्ना भएका बिरामीमा कुनै दीर्घ रोग भए नभएको जानकारी हुन नसकेको प्रतिष्ठानले जनाएको छ । यसैगरी, धरान– ९ कै कोरोना संक्रमित ४४ वर्षीया महिलाको समेत बुधबार अपरान्ह ३ः१५ बजेतिर उपचार गर्दागर्दै मृत्यु भएको सहप्रवक्ता श्रेष्ठको भनाइ छ । महिलाको पनि दीर्घ रोगबारे जानकारी नभएको जनाएको प्रतिष्ठानका अनुसार असोज २७ गते भएको पीसीआर परीक्षणको नतिजाबाट संक्रमित देखिएकी उनलाई २८ गते प्रतिष्ठानकै कोभिड उपचार केन्द्रमा उपचार सुरु भएको थियो ।

सहप्रवक्ता श्रेष्ठले तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार बिहान ७ः १५ बजेतिर उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । मृगौलामा समस्या, मधुमेह र उच्च रक्तचापका बिरामी रहेका पुरुषमा विराटनगरस्थित कोशी अस्पतालको ल्याबबाट कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टिसँगै बिरामीलाई असोज ११ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना  गरी उपचार भइरहेको उनले बताए । तेह्रथुम दांग्पा –१ का ४९ वर्षीय पुरुषकोसमेत प्रतिष्ठानको आकस्मिक कक्षमा बुधबार उपचारका क्रममा मृत्यु भएको थियो । यससँगै प्रतिष्ठानमा हालसम्म ज्यान गुमाउने संक्रमितको कुल संख्या ५८ जना पुगेको छ ।