इटहरीः मोरङको विराटनगरस्थित विराट नर्सिङ होमबाट डिस्चार्ज गरिएका कोरोना संक्रमित पुरुषको घर नपुग्दै बाटैमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको रतुवामाई नगरपालिका–७ सिजुवाका ४८ वर्षीय पुरुष रहेका छन् । अस्पतालले डिस्चार्ज गरेलगत्तै घर फर्कने क्रममा उनको हिजो साँझ ७ः४० बजे ज्यान गएको हो । स्वासप्रस्वास र निमोनियाको उपचारका लागि उनलाई गत बुधबार अस्पताल भर्ना गरिएको परिवारजनले बताएका छन् । रतुवामाई नगरपालिकाका मेयर रविन राईका अनुसार अस्पताल भर्ना भएको भोलिपल्ट उनी संक्रमित देखिएका थिए ।

मधुमेह, दम तथा मृगौलाको समस्याबाट लामो समयदेखि पीडित रहेका उनलाई अस्पतालले संक्रमण देखिएलगत्तै उपचार नहुने भन्दै घर पठाएको मेयर राईको आरोप छ । संक्रमणका कारण ज्यान गएपछि मृतकको घर सील गरी शव सेनाको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रमुख प्रहरी निरीक्षक विष्णु खड्काले बताए ।

अस्पतालका प्रशासन प्रमुख पदम बिनाडीले भने अस्पतालले संक्रमण देखिएपछि डिस्चार्ज गरेको भन्ने आरोप अस्वीकार गरेका छन् । आफन्तले बिरामीलाई अस्पतालबाट लगिसकेपछि मात्र उनमा संक्रमण पुष्टि भएको उनको जिकीर छ । रिपोर्ट नआइकनै उपचार गर्दा पनि नबाँच्ने भए अस्पतालमा नराख्ने बताएपछि परिवारलाई बिरामी जिम्मा लगाएर पठाएको र संक्रमण पुष्टि भएपछि जानकारी गराइएको विनाडीले बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले अस्पतालले संक्रमित बिरामीलाई उपचार नगरी घर पठाएको बारे आफू पनि जानकार रहेको बताउँदै थप जानकारी लिने काममा आफू लागेको बताए ।